विराटनगर । मोरङ बुधनगरका ४० वर्षीय वीरेन्द्र मुखियाको दैनिकी सहजै चलेको थियो। बिहान ठेला तान्ने कामको कमाइले चार जनाको परिवार पाल्न समस्या थिएन। तर, चैत ११ देखि आजसम्म भने उनलाई निकै समस्या परिरहेको छ। झन् यही अवधिमा श्रीमती गुमाउनुको पीडाको त सीमा नै छैन। श्रीमतीको क्रिया गर्दा लागेको ऋणको बोझ ठेलाले नथाम्ने भएको छ।
विराटनगरमा निषेधाज्ञा खुकुलो भएसँगै ठेला लिएर बजार त निस्कन्छन्, उनी। तर, काम नपाउनुको पीडा अर्कै छ। आफूहरू विराटनगरका बसिम आलमको नेतृत्वमा खटिएका युवाको समूहले खुवाउने खानाको भरमा बाँचेको उनी सुनाउँछन्। ‘ श्रीमती बितिन्। आम्दानी छैन। ठेला निकालेर मात्रै के गर्नु सामान ओसारपसार गर्ने यात्रु छैनन्’, उनले भने, ‘यी भाइहरूले खुवाएको खानाले बाँचेका छौं।’
सहयोगी आलमले वीरेन्द्र जस्ता धेरै जना समस्या परेकाले सहयोग गरेको बताउँछन्। उनी भन्छन्, ‘धेरैले रोजगारी गुमाए, भोकै रात कटाउने पनि भेटिए। त्यसैले सहयोग गरेका हौं।’ काम गरेरै खाऊँ भने काम पाइँदैन, फेरि आफूहरू ठेला तान्नेबाहेक अरू काम नजानेकाले समस्यामा परेको वीरेन्द्रले सुनाए। ‘विराटनगरमा ठेला तान्ने धेरै छौं, सबैको समस्या उस्तै–उस्तै छ’, उनी भन्छन्, ‘प्लेन र गाडी नचल्दा ठेलामा सामान लैजाने यात्रु हुँदैनन्।
यसले हामी समस्यामा परेका हौं।’ बजार वा पसल बिहानदेखि बेलुका ७ बजेसम्म खुल्दा अत्यावश्यक सामान किन्ने मात्रै बजार आउनाले यस्ता ठेला चलाउनेहरू काम पाएका छैनन्। अहिले उनीहरूको दिन सडक किनारमा ठेला राखेर कसैले बोलाउलाकी भनेर कुर्दै बित्ने गरेको छ। अन्नपूर्ण पोष्टबाट…
