काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका दुई सय ४३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत एक सातामा मात्रै विभिन्न मुलुकमा ४३ जना नेपालीको निधन भएको छ ।
एनआरएनएका अनुसार १६ देशमा नेपाली नागरिकको कोरोनाका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका हुन् ।
विदेशमा रहेका नेपालीमध्ये सबैभन्दा बढी ६९ जनाको बेलायतमा निधन भएको छ । साउदी अरेबियामा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको एनआरएनएले जानकारी दिएको छ । त्यस्तै, युएईमा ३७ र भारतमा ३२ नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।
एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, भारत, कतार र साउदी अरेबियालगायतका देशमा कोरोना संक्रमणदर वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका ३७ हजार ६ सय ४७ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । नयाँ पत्रिकाबाट…
