भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

बेमौसमी मकै खेतीबाट आम्दानी

बेमौसमी मकै खेतीबाट आम्दानी

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन् ।

रिजालले भने “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् ।

“बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उनले भने, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।”

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको गैँडाकोटकै सरस्वती सापकोटाले बताइन् । व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने सापकोटाले बताइन्।

हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आएकी स्थानीय सावित्री शर्माले बताइन् । “प्रतिघोगा पाँचदेखि दशमा खरिद गरेर २० देखि २५ रुपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ”, उनले भनिन् । जिल्लाको गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।

जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौँ, पोखरालगायत मुख्य सहरमा पोलेर खाने हरियो मकै गैँडाकोटबाट निर्यात हुँदैआएको स्थानीय कृषकले बताएका छन् । गैँडाकोट नगरपालिका ६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताए । “गैँडाकोटको नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्”, उनले भने ।

गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताए । “आर्थिक वर्ष २०७८–७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो”, उनले भने, “२०७९–८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ ।” गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ । हिउँदको समयमा लगाइएका हरियो मकै मात्र तीन करोड बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.