भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेकपा माओवादी (केन्द्र) र नेकपा एसबीच पार्टी एकीकरणको टुंगो, नीति र नेतृत्वमा सहमति

नेकपा माओवादी (केन्द्र) र नेकपा एसबीच पार्टी एकीकरणको टुंगो, नीति र नेतृत्वमा सहमति

काठमाडौं, ७ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकीकरणको प्रक्रिया अब लगभग पूरा भएको छ । यस एकतामा नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा पनि समेटिने प्रयास जारी रहेको छ ।

यस सम्बन्धी वार्तामा संलग्न नेताहरूका अनुसार, अब माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकीकरणमा कुनै पनि प्रमुख असहमतिहरू छैनन् । पार्टीको नेतृत्वको विषयमा प्रचण्ड र माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ । वार्ता टोलीका एक सदस्यले बताए अनुसार, दुई पार्टीबीच चुनाव चिन्हको बारेमा भने सहमति हुन सकेकाे अवस्था छैन । नेकपा एसले ‘कलम’ चिन्ह राख्न चाहेको छ भने माओवादी केन्द्रले ‘अर्को चिन्ह’ खोज्ने पक्षमा छ ।

पार्टीको सिद्धान्त र नीति कार्यक्रमलाई टुंग्याउनको लागि सहमति भएको छ । नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने छ भने कार्यनीति नेपाली विशेषतासहितको समाजवाद रहनेछ । माओवादी केन्द्रले माओवाद त्याग्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवादको सिद्धान्त पहिल्यै नै त्याग गरेको छ ।

पार्टीको नाममा पनि छलफल जारी छ । पार्टीको नाम “नेपाल कम्युनिस्ट पार्टी समाजवादी” वा “नेकपा समाजवादी” राखिने संभावना छ । साथै, ‘नेकपा समाजवादी केन्द्र’ नामको विकल्प पनि छलफलमा आएको थियो, तर छोटकरी नाम ‘नेकपा सके’ (NCP-SK) अस्वीकृत गरिएको छ ।

नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक हुने प्रस्ताव अघि सारिएको छ । विप्लवसहित अन्य घटकहरूसँगको एकता पछि अध्यक्ष मण्डलको गठनको बारेमा पनि छलफल भइरहेको छ । अब पार्टी एकीकरणका सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेका छन् र प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टीको निर्माण हुने सम्भावना रहेकाे छलफलमा सहभागी नेताहरूले बताइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.