भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मौसममा क्रमिक सुधार, हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्गसहित दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन

मौसममा क्रमिक सुधार, हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्गसहित दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन

काठमाण्डौ, ११ माघ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ।

मौसमविद्का अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान छ। पूर्वी तथा मध्य तराईका केही ठाउँमा बिहानपख हुस्सु लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बेलुकादेखि नेपालको पश्चिम क्षेत्रका अधिकांश जिल्लामा बदलीसहित वर्षा र हिमपात भएको थियो।

मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आजदेखि क्रमिक रूपमा घाम लाग्नेछ। तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट वर्षा र हिमपातको सम्भावना भने कायमै रहेको छ। हिजो जुम्ला, डोल्पा, दार्चुला, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, गुल्मी लगायतका जिल्लामा हल्का वर्षा तथा केही स्थानमा हिमपात भएको थियो।

गएराति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र सामान्य वर्षा भएको जनाइएको छ। लामो समयको खडेरीपछि परेको वर्षा र हिमपातले चिसो बढाएको भए पनि किसानलाई भने राहत पुगेको छ।

सिँचाइका लागि हिउँदे वर्षामै निर्भर रहनुपर्ने उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगाइएको गहुँ, जौ, केराउ, मुसुरोलगायतका बाली सुक्न थालेको अवस्थामा परेको वर्षा र हिमपातले बाली सप्रिने आशा बढाएको छ। यसैबीच आउँदो मंगलबारदेखि बुधबारसम्म फेरि अर्को प्रणाली सक्रिय भई वर्षा तथा हिमपात गराउने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ।

यसैबीच हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गसँगै दशरथचन्द र जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएका छन्। सडकमा जमेको हिउँ हटाएपछि सवारी आवागमन पुनः सुरु भएको सम्बन्धित निकायले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.