भर्खरै : Sorry, your browser does not support inline SVG.

निर्वाचन नजिकिँदै गर्दा बढ्यो मिथ्या सूचना, २८ प्रतिशत नागरिक प्रभावित

निर्वाचन नजिकिँदै गर्दा बढ्यो मिथ्या सूचना, २८ प्रतिशत नागरिक प्रभावित

मुख्यबुँदा

नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेको अध्ययन

मिथ्या सूचना सामाजिक सञ्जालमा बढी फैलिने तथ्य

निर्वाचन लक्षित संगठित रूपमा मिथ्या सूचना फैलिँदै

मिथ्या सूचनाले जनमत प्रभावित पार्न सक्ने विज्ञको निष्कर्ष

मिडिया साक्षरता बढाउनुपर्नेमा जोड

काठमाण्डौमा दुई दिने सम्मेलन जारी

काठमाण्डौ, ११ माघ । काठमाण्डौमा मिथ्या सूचनाविरुद्धको सम्मेलन चलिरहेको छ। हिजोदेखि सुरु भएको दुई दिने सम्मेलनमा विज्ञहरूले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अनलाइन र अफलाइन माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले संगठित रूपमा मिथ्या सूचना फैलाउन थालेको बताएका छन्।

सम्मेलनमा प्रस्तुत देशव्यापी अध्ययनको निष्कर्षअनुसार नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेका छन्। अध्ययनले मिथ्या सूचना विशेषगरी फेसबुकलगायतका सामाजिक सञ्जालमा बढी देखिने र राजनीतिक विषयवस्तुमा केन्द्रित हुने गरेको तथ्य सार्वजनिक गरेको छ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) को आयोजनामा भइरहेको सम्मेलनमा वक्ता तथा कार्यपत्र प्रस्तुत गर्ने अध्येताहरूले मिथ्या सूचनाले जनमत निर्माणमा गम्भीर प्रभाव पार्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि मिडिया साक्षरता बढाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको छ।

यसैगरी पछिल्लो नवयुवक आन्दोलनमा डिस्कर्डको प्रभाव, समाचार कक्षमा एआईको प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा फ्याक्ट चेकिङ, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेश प्रदेशमा सामाजिक सञ्जालको प्रयोग र त्यसको असर, नेपालमा फ्याक्ट चेकको अवस्था तथा पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरतासम्बन्धी अध्ययनहरू पनि प्रस्तुत गरिएको छ।

एक सयभन्दा बढी सहभागी रहेको सम्मेलन आज समापन हुनेछ। आज मिथ्या सूचनाको प्रतिकार, त्यसमा मिडिया शिक्षाको भूमिका, मिथ्या सूचनाविरुद्ध मिडियाको जिम्मेवारी, जलवायु विषयमा मिथ्या सूचना तथा सामाजिक सञ्जाल प्लेटफर्महरूको दायित्वलगायत विषयमा छलफल गरिनुका साथै सामाजिक सञ्जालका सामग्री निर्माताहरूसम्बन्धी अध्ययनको नतिजा पनि प्रस्तुत गरिनेछ।

Mohotsav


Thali Mobile Pvt.Ltd.