भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …..

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …..

मुख्य बुँदा

मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्दै।

जलवायु परिवर्तन, तापक्रम वृद्धि र रोग–कीराको संक्रमण मुख्य कारण।

वैकल्पिक खेतीतर्फ किसान झुके: केरा, कफी, अदुवा, बेसार, कोदो, अम्बा।

टीकाराम जैसी र डिलकुमारी तिमिल्सिना जस्ता किसान विस्थापित।

‘सिट्रस ग्रिनिङ’ रोग र ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ ब्याक्टेरिया मुख्य जोखिम।

कृषि शाखा प्रमुखले रोगग्रस्त रुख उखेल्न र वैकल्पिक खेती गर्न सुझाव।

वार्षिक आम्दानी घटेर पाँच करोडबाट दुई करोडसम्म सीमित।

पर्वत, ३० कार्तिक। सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् ।

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् ।

उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् ।कुनै बेला जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन् ।

उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका छन् । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ । भयभरका बोट सुकिसकेपछि उहाँले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे । काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको प्रकोप थाहा भएपछि उनले सुन्तलाखेती नै छाडेका हुन् ।

सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताए । घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ ।

लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिए । विगत केही वर्षअघिसम्म वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म भित्रिने चापागाईँको अनुमान छ । लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसान चिन्तित बनेका उनले बताए ।

मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताइन् । ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ले त्यहाँका बगैँचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताइन्।

पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बाङ्गो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताइन् ।

सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ । तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिनुभएको छ ।

यहाँका झण्डै एक सय ५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए । सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.