काठमाण्डौ, १९ असाेज । दशैँ तिहार लगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकाका बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ । भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँ सडकलगायतका बजारमा नयाँ कपडा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको हो ।
विशेषगरी भृकुटीमण्डपका खुला बजारमा केही दिनयता ग्राहकको आवागमन उल्लेख्य बढेको व्यापारीहरूले बताएका छन् । भृकुटीमण्डप खुला बजारका व्यापारी अशोक खतिवडाले दशैँमा मुख्य किनमेलको समय शुरु भएसँगै बजारमा ग्राहकको चाप बढ्न थालेको बताउनुभयो ।
अर्का व्यापारी श्यामप्रकाश अधिकारीले पनि दशैँमा नयाँ कपडा लगाउने परम्परा भएकाले चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको बताउनुभयो ।भृकुटीमण्डपमा कपडासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढेको छ ।
काठमाण्डौ उपत्यकाका खुला बजार तथा सडक किनारका पसलमा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने गरेको छ ।
मौसममा पनि क्रमिक परिवर्तन आउन थालेकाले न्यानो कपडा खरिद गर्ने ग्राहकसमेत बजारमा देखिन थालेका छन् । ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहक बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताउनुभयो । व्यापारीहरूले दशैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । रासस
