भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन ।
मुम्बई र नयाँ दिल्लीसहित विभिन्न स्थानमा प्रदर्शन भएको दाबी ।
प्रदर्शनकारीले स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गरेका छन् ।
निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।
विपक्षी दलले निर्वाचन आयोगसम्म मार्च र देशव्यापी ‘लोकतन्त्र जोगाऔँ’ अभियान घोषणा गरेका छन् ।
काठमाडौँ, १९ असाेज । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शन लगातार तेस्रो दिनसम्म जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शन मुम्बई र नयाँ दिल्लीसहित विभिन्न स्थानमा भएको बताइएको छ । मुम्बईमा हजारौँ मानिस भारतीय झण्डा बोकेर सडकमा उत्रिँदै मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका थिए ।
प्रदर्शनमा विपक्षी दलका नेता तथा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का समर्थकहरूको समेत सहभागिता रहेको जनाइएको छ । सीजेपीका प्रमुख अभिजीत दिपकेले स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।
प्रदर्शनकारीहरूले निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । तर, भारतीय निर्वाचन आयोगले भने मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने आफूविरुद्ध भइरहेको प्रदर्शन तथा राजीनामाको मागबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने तथा देशभर ‘लोकतन्त्र जोगाऔँ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । कक्रोच जनता पार्टीले आगामी अक्टोबर १० मा नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारीसमेत गरेको जनाएको छ ।
