मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य

मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य

मुख्य  बुँदा

मुस्ताङ–पोखरा उडानमा नेपाली यात्रुले टिकट नपाएको गुनासो बढ्यो ।

विदेशी पर्यटकलाई बढी भाडा पाइने भएकाले एयरलाइन्सले उनीहरूलाई प्राथमिकता दिएको स्थानीयको आरोप ।

सडक अवरुद्ध भएपछि मुस्ताङका नागरिक हवाई सेवामा निर्भर हुन बाध्य ।

प्रशासनले प्रत्येक उडानमा कम्तीमा दुई जना नेपाली यात्रुलाई अनिवार्य लैजानुपर्ने नियम बनायो ।

नियम पालना नगरे एयरलाइन्सविरुद्ध थप हस्तक्षेप गर्ने स्थानीय प्रशासनको चेतावनी ।

पोखरा, १९ असाेज । सडक सञ्जाल अवरुद्ध भएपछि मुस्ताङ–पोखरा आउजाउका लागि हवाई सेवा महत्वपूर्ण बने पनि नेपाली यात्रुले जहाजको टिकट नपाएको गुनासो बढेको छ । मुस्ताङबाट पोखरा जाने उडानमा एयरलाइन्सहरूले विदेशी पर्यटकलाई प्राथमिकता दिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

आकस्मिक कामका लागि पोखरा आउन खोजेका मुस्ताङ पत्रकार महासंघका सचिव आदित्य रसाइलीले समेत पटक–पटक आग्रह गर्दा समिट र तारा एयरमा टिकट नपाएको बताउनुभयो । इसेवामार्फत टिकट खोज्दा करिब १२ हजार रुपैयाँ भाडा देखिए पनि नेपाली यात्रुका रूपमा टिकट उपलब्ध नगराइएको उहाँको गुनासो छ ।

रसाइलीका अनुसार मुस्ताङ–पोखरा रुटमा नेपालीका लागि वास्तविक भाडादर करिब ४ हजार ८ सय रुपैयाँ भए पनि अनलाइन प्रणालीमा महँगो दर देखिने गरेको छ । महँगो भाडा तिर्न तयार हुँदा पनि नेपाली यात्रुलाई टिकट नदिइएको उहाँको भनाइ छ । सडक सञ्जाल अवरुद्ध भएपछि बिरामी, अशक्त तथा आकस्मिक काम परेका नागरिकसमेत समस्यामा परेका छन् । असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण म्याग्दी र पर्वतका विभिन्न स्थानमा सडक क्षतिग्रस्त भएपछि मुस्ताङको सडक सम्पर्क प्रभावित भएको हो ।

मुस्ताङमा तारा एयर र समिट एयरले नियमित हवाई उडान गर्दै आएका छन् । तर, नेपाली यात्रुको तुलनामा विदेशी पर्यटकबाट बढी भाडा प्राप्त हुने भएकाले एयरलाइन्सले विदेशीलाई प्राथमिकता दिएको स्थानीयको आरोप छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार नेपाली यात्रुलाई टिकट नदिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जोमसोम विमानस्थलबाट हुने प्रत्येक उडानमा कम्तीमा दुई जना नेपाली नागरिकलाई अनिवार्य रूपमा लैजानुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रशासनले बिरामी, असहाय तथा आकस्मिक समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा छनोट गरी एयरलाइन्समा पठाउने गरेको छ । भण्डारीका अनुसार विपद्को अवस्थामा समेत एयरलाइन्सले नाफालाई मात्र प्राथमिकता दिएको गुनासो आएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

हाल जोमसोम विमानस्थलबाट तारा एयर र समिट एयरले दैनिक औसत १० वटा उडान गर्दै आएका छन् । एयरलाइन्सले प्रशासनको आग्रहसमेत बेवास्ता गरेपछि पर्यटन मन्त्रालयमा समेत जानकारी गराइएको प्रशासनले जनाएको छ । एक कर्मचारीका अनुसार एक एयरलाइन्सले बिरामी यात्रुलाई लैजान अस्वीकार गरेपछि पर्यटन मन्त्रालयका सहसचिवलाई अवस्थाबारे जानकारी गराइएको थियो । मन्त्रालयमा गुनासो गरेपछि मात्रै यात्रु लैजान एयरलाइन्स तयार भएको उनको भनाइ छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने विपद्को समयमा नेपाली नागरिकलाई बेवास्ता गर्ने एयरलाइन्सको प्रवृत्ति नरोकिए विमानस्थलमै विरोध गर्ने चेतावनी दिनुभएको छ । उहाँले संकटको समयमा डलर तथा महँगो भाडा तिर्ने विदेशी र भारतीय पर्यटकलाई मात्र प्राथमिकता दिनु उचित नभएको बताउनुभयो ।

निजी एयरलाइन्स भए पनि विपद्को समयमा नागरिकप्रतिको जिम्मेवारीबाट पन्छिन नहुने उहाँको भनाइ छ । अध्यक्ष लालचनले यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत कुरा राख्ने बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.