काठमाण्डौ, १९ असोज । गएको असोज ८ गतेदेखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका झण्डै ५ सय ५० घरपरिवार प्रभावित भएका छन् । १ सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३ सय ४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १ सय ८३ घर जोखिममा परेका छन् । बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
यसैगरी रघुगंगा गाउँपालिकामा ६ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् । मालिका गाउँपालिकामा ३ घरमा पूर्ण, एक घरमा आंशिक क्षति र ३ घर जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकामा ४ घरमा पूर्ण, ७ घरमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् । ५६ वटा गोठ भत्किदा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका १ सय १५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ ।
विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनी देखि हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ । अन्नपूर्ण गाउँपालिकामा ५ र मालिका गाउँपालिकामा २ जनाको पहिरोमा परि ज्यान गएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एकरएक जना वेपत्ता छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिचाई, कृषि, पशुपंक्षि लगायत क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको छ । रासस
