बेलायतको सैन्य आधारबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान

बेलायतको सैन्य आधारबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान

एजेन्सी । अमेरिकाले बेलायतस्थित फेयरफोर्ड सैन्य आधारमा रहेका आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो निर्णय बेलायतमा गम्भीर घटनापछि प्रति–आतंकवाद प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला आएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा फेयरफोर्ड सैन्य आधारमा रहेका सबै बमवर्षक विमान अमेरिकास्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् ।

तर, अमेरिकाले बमवर्षक विमान फिर्ता बोलाउनुको स्पष्ट कारण भने सार्वजनिक गरेको छैन । यद्यपि, यो निर्णयलाई गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित फेयरफोर्ड हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेको घटनासँग जोडेर हेरिएको छ ।

उक्त घटनापछि बेलायती प्रहरीले पाँच जना पुरुषलाई आतंकवादी गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको थियो । उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको थियो । यसैबीच, बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई पनि लन्डनबाट पक्राउ गरिएको थियो । उनलाई समेत शनिबार धरौटीमा रिहा गरिएको प्रति–आतंकवाद प्रहरीले जनाएको छ ।

फेयरफोर्ड बेलायतमा अमेरिकी बमवर्षक विमानको महत्वपूर्ण सैन्य आधारका रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो घटनापछि विमान फिर्ता बोलाउने अमेरिकी निर्णयले सुरक्षा अवस्थाबारे थप चासो बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.