काठमाडौं, २० असार । राष्ट्रिय सभाका सांसदहरूले मुलुकका समसामयिक समस्या, विकास निर्माणमा देखिएका अवरोध, सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले कर्णाली प्रदेशको सडक समस्या, दैलेख बस दुर्घटना, मल खरिदमा देखिएको मूल्य अन्तर, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्या र संसदप्रति सरकारको उदासीनताका विषय उठाएका हुन्।
सांसद दुर्गा गुरुङले वर्षायाम सुरु भएसँगै कर्णाली प्रदेशमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धारमा गम्भीर असर परेको बताइन्।
उनले दिगो सडक पूर्वाधार निर्माण र प्रभावकारी मर्मतसम्भारका लागि सरकारसँग आवश्यक पहल गर्न आग्रह गरिन्। सांसद नरबहादुर विष्टले दैलेखमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे।
उनले बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र बनाउन र सम्भावित बाढी–पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको तयारीबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।
मल खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै सांसद नारायणदत्त मिश्रले भारतले प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा खरिद गरेको डीएपी मल नेपालले करिब ९०० अमेरिकी डलरमा खरिद गर्नुको कारणबारे स्पष्ट पार्न सरकारसँग माग गरे।
उनले खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र सम्भावित अनियमितताबारे छानबिन हुनुपर्ने धारणा राखे।सांसद युवराज शर्माले मेलम्ची खानेपानी आयोजनामा पुनः देखिएको अवरोध, स्वास्थ्य तथा शिक्षामा कर वृद्धि, विद्यालय क्षेत्र वरपर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री नियन्त्रण र शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको विषयमा सरकारको ध्यानाकर्षण गराए।
उनले परीक्षा प्रणाली र पाठ्यक्रममा समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। यता सांसद सुरेशकुमार आले मगरले भने शून्य समयमा कुनै विषय नउठाई सरकारप्रति सांकेतिक विरोध जनाए। संसदमा पटक–पटक उठाइएका जनसरोकारका विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ नदिएको भन्दै उनले आफ्नो मौनतामार्फत असन्तुष्टि व्यक्त गरे।
