भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

युवाले मेहेनत गरे नेपाललाई सिंगापुर जस्तै बनाउँन सकिन्छः तामाङ

युवाले मेहेनत गरे नेपाललाई  सिंगापुर जस्तै बनाउँन सकिन्छः तामाङ image

सानै उमेर देखि समाज सेवामा लागेका एक युवा व्यवसायीसंगको अन्तरंग कुराकानी आजको प्रस्तुतीमा राखेका छौं । सबै युवाले मेहेनत गरे नेपालमा नै सबै गर्न सकिन्छ भन्ने उदाहरण बनेका नगरकोट निवासी युवा व्यवसायी कृष्ण बहादुर तामाङसंग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छः सम्पादक

समाजमा तपाईं आफुलाई कसरी परिचित गराउँन रुचाउँनु हुन्छ ?
समाज विभिन्न वर्गमा विभक्त छ । वर्गीय समाजमा कोहि विदेश रुचाउँछ त कोही स्वदेश । तर म आफ्नो परिचय दिनुपर्दा दुःखको खाल्टोबाट पनि सुखमा पुगिन्छ भन्न चाहन्छु । सुखका लागि विदेश नै जान पर्छ भन्ने छैन । जीवन जीउन अरुको भर पर्न पर्छ भन्ने पनि छैन । आफ्नो आत्मबल बलियो गरेर कर्मको बाटो हिँड्यो भने यही सुख भेटिन्छ भन्ने लाग्छ ।

के तपाईँ दुःखमा हुनुहुन्थ्यो र पहिले ?
आजभन्दा २० वर्ष पछाडी फर्किदा अहिले जस्तो विकास थिएन । त्यो अवस्थामा हाम्रो ठाउँ, हामी हुर्केको गाउँँ, अनि म जन्मेको ठाउँ सामान्य गाउँ थियो । मेरो गाउँ नगरकोट हो । पर्यटकीय स्थल भएर अहिले संसारमा चर्चित छ । पहिला यस्तो थिएन । अहिले पो यस्तो भयो । रुकुम, रोल्पा नेपालका धेरै दुरदराजका गाउँको जनजीवन अझै कष्टकर नै छ नि ।

हो त्यस्तै थियो हाम्रो गाउँमा पनि । दुःखको कुरा गर्दा गाउँमा खानै नपाउने त होइन, पुख्र्यौली सम्पत्ति त हुन्छ नि गाउँमा । खेतीपाती गर्ने खाने त्यही अवस्था थियो । अहिले त हामी छाकै पेच्छे मासु खान्छौं । त्यति बेलामा ३ महिनामा एकचोटी दशैंमा एक पटक खायाैँ होला । त्यो अवस्थाबाट गुज्रिदै आउँदा अहिले जस्तो थिएन । मेरो सोच परिवर्तन हुदैँ गयो । सबै कुराहरु परिवर्तन हुदैँ गए । समय अनुसार ठाउँ पनि परिवर्तन हुदैँ गएको छ ।

कति वर्षको हुनुभयो ?
म अहिले ४१ वर्षको भए ।

कुनै त्यस्ता दिन छन् जुन, आज पनि सम्झिदा झसङ्ग हुन्छ ?
त्यस्ता दिनहरु कति छन् कति । मेरो घरभन्दा माथि पापड पाउँथ्यो । मेरो बाजेले मलाई लिन पठाउनु भएको थियो । मैले पापड किने । त्यति बेला प्याकिङको व्यवस्था केहि थिएन । त्यो पापड लिएर आउँदा यसो हेरे मन थामे, फेरि हेरे फेरी मन थामे । अलि अगाडि बढेपछि मन नै थाम्न सकिएन । थोरै खाइदिम् आफ्नै बाजेले लिन पठाउँनु भएको त हो नि भनेर थोरै खाइदिँए । त्यसको आकार बिग्रियो ।अब बाजेले नि थाहा नपायोस् आफ्नो मुख त मिठो भइहाल्यो भन्ने किसिमले त्यसलाई मिलाउँन वरीपरि खाँदै गएँ । आकार मिल्न गयो तर सानो भयो ।

मिलाउदै खादैँ जाँदा घरमा पुगेँ । बाजे पापड भनेर दिएँ । बाजेले हेर्ने बित्तिकै गाली गर्नुभयोे । किन यति सानो पापड भनेर गाली गर्नुभयो । मैले होइन आज यस्तै दिए भने । बाजेले मलाई यति गाली गर्नुभयो कुरै नगरौं । यो पापड तुरुन्त फिर्ता दे भन्नुभयो । अब फिर्ता दिने कहाँ ? आफैले खाएको । अब उसले फिर्ता लिने कुरै भएन । त्यो पापड पनि खाऐँ अनि साथीको घरमा बसें । भोलिपल्ट फेरी गाली खाएँे । यस्तै रमाइला दिन थिए । जसले अहिले पनि झस्काउँछ ।

अहिलेसम्म के के गर्नुभयो ?
हाम्रो गाउँमा त्यति बेला सुविधा सम्पन्न स्कुल थिएन । स्कुल भवन नभएर घर नजिकैको मन्दिरमा सुकुल आच्छ्याएर पढाइन्थ्यो । ५ कक्षा पढ्ने बेला मेरो घर जलेको रहेछ । कक्षामा पढिरहेको बेला जलिरहेको छ्वालीको टुक्राहरु आउन थाले । केहि समय पछि ला तेरो घर जलेछ भनेर हल्ला भयो । दुःखको क्षण त्यो अहिले पनि सम्झिन्छु । मामाको घरतिर गएर केहि दिन बसियो । लगत्तै केही दिन देखि मामाको घरबाट स्कुल गएँ । नगरकोटमा काठमाडौं निवासी एक जनाको जग्गा रहेछ ।

जग्गा रेखदेख गर्नको लागि गाउँ कै एक जना मान्छे राख्नुभएको रहेछ । त्यो घटना घटेको केही दिनपछि त्यो सर नगरकोट आउनु भयो । उहाँले घरमा काम गर्ने मान्छे खोजिरहनु भएको तर कोही नपाएको दुखेसो सुनाउनु भयो । जग्गा हेर्न मान्छेले मलाई सम्झिनु भएछ । उहाँले काठमाडौं जाने हो भन्नुभयो । मैले हुन्छ जान्छु भने । त्यसपछि काठमाडौं गए । मलाई उहाँले आफ्नै बच्चा जसरी नुहाएर, कौसीमा राखेर खाजा खुवाउने बेला तैले खाइस् त ? भनेर सोध्नु भयो । आफु खानुभन्दा अघि अरुलाई सोध्ने रहेछ बाबुले यो त साँच्चै असल रहेछ भन्ने सोच्नु भयो ।

केहि समयपछि उहाँहरुले पढ्ने हो भन्नु भयो । मैले हुन्छ म पढ्छु भने । नक्सालमा नन्दी मा.वि भन्ने स्कुल छ । त्यहि उहाँहरुले भर्ना गर्दिनु भयो । केही वर्ष पढेँ । कक्षामा शीर्ष स्थान नै ल्याएको थिए । कक्षाको एक जना मिसले २/४ जना कक्षाका टपरहरुलाई लगेर बाटोको फोहोर प्लास्टिक टिप्न लगाएर सफा गर्न लगाउनु हुन्थ्यो । फोहोर नर्सरीमा लगेर बेच्थ्यौं । त्यो पैसाले हामी पुस्तकालयमा किताब किन्थ्यौ । म बाल्यकालमा पनि समाजसेवा गरेको रहेछु भन्ने कुरा पछि थाहा भयो ।

बाल्यकालको दुःख भन्नु पर्दा ?
गाउँमा हुने बेला धेरै दुःख भोगे । सानो हुँदा खानैको लागि काम गर्नु पर्छ भन्ने लाग्थ्यो । काठमाडौंबाट फर्किदा नगरकोटमा होटल खुलेको रहेछ । त्यसपछि होटलमा काम गराैं । सन् २००४ मा मलेसिया गएँ । अन्तर्वार्ताको पालोमा भिसा आउँदैन भनेर चिन्ता थियो । मेरो भिसा ५ महिनापछि आयो । सेक्युरिटि गार्डमा गयो भने तलब धेरै हुन्छ भनेको सुनेर सेक्युरिटि गार्डको प्रमाणपत्र बनाएँ ।

आफुभन्दा अगाडी आर्मीका रिटायर हवल्दार, आफु परेँ फुच्चे । उहाँ भित्र गएर सलाम गर्दा त घर नै भत्कियो कि क्या हो जस्तो लाग्यो । सलाम गर्न अलि अलि सिकेको थिएँ । अन्तर्वार्ता लिने मलेसियनको अगाडी आएन । अंग्रेजीमा सोध्यो । मैले अंग्रेजी मै जवाफ फर्काए । मेरो हाइट भन्दा पनि अंग्रेजी मन परेर मलाई तुरुन्तै छाने छ । त्यति बेला नै मैले खुट्टा बजार्ने भन्दा अलिकति दिमाग र बोली राम्रो भयो भने अवसर पाउँदो रहेछ भन्ने बुझेँ । वास्तवमा मलेसियामा पनि बोल्न सक्ने व्यक्तिहरुले राम्रै ठाउँ पाउदो रहेछ । म लगभग ११ महिना जति त्यहाँ बसेँ ।

त्यो बेला कमाई कस्तो हुन्थ्यो ?
त्यो बेला नेपालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँले नेपालीलाई ४८१ भए पुग्छ । त्यसमा पनि लेबि तिमीहरुको प्रावधान बमोजिम काट भनेर सम्झौता भएको मलाई अहिले पनि याद छ । तर सेक्युरिटिमा भने १२५० रुपयाँ थियो ।

दुःख कति पाउनु भयो ?
दुःख खासै थिएन । तर ज्यामी काममा जानेहरुका लागि भने बेसरी दुःख थियो । हाम्रो दुःख भनेको एकदम दिमाग चलाउने थियो । कलम चलाउने भन्दा दिमाग चलाउने भएर त्यति दुःख भएन ।

नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकता छ नि ?
युवाहरुको मानसिकता त्यस्तो छ । यसको जिम्मा नेपालका राजनीतिक दलहरुले लिनु पर्छ । यसका दोषी दलका नेता हुन । आन्दोलन जुलुस लगाउने तर रोजगारीका निम्ति नसोच्ने भएपनि कसरी आशा जगाउने ? आन्दोलन किन भएको हो ? ती युवाहरुलाई थाहा नि हुदैँन । तिनीहरु प्रयोग मात्र हुन्छन् । अरुको मात्र धेरै प्रयोग भइदिन हुदैँन । आफुले मेहिनेत गरेर खानुपर्छ भन्ने सोच हुदैन । नेपालमा पनि मेहिनेत गरे सबै चिज छ । दलमा लागे पनि आफ्नो परिश्रमलाई पहिलो प्राथमिकता दिएर अघि बढे सफल हुन्छ । म त्यसको उदाहरण हो । नेपाली युवाहरूले स्वदेश मै मेहेनत गरे नेपाललाई सिंगापुर बनाउँन सकिन्छ ।

अहिले के गर्दै हुनुहुन्छ ?
होटलमा काम गर्ने क्रममा नगरकोट भनेको व्यापार गर्ने ठाउँ रहेछ भन्ने बुझेँ । व्यापार गरेपछि पैसा हुदोँ रहेछ भन्ने लाग्यो । एउटा यस्तो हुल पनि आएको थियो नगरकोटमा हप्ता उठाउनु पर्छ, भत्ता उठाएर खानुपर्छ भन्ने । त्यो प्रस्ताव स्वीकार गरेन । हप्ता उठाउने होइन बरु लगातार खाउँ थोरै खाउँ भनेर म व्यापारमा लागे । पहिला सानो पसल थियो दाजुभाइहरु मिलेर गरेको । अहिले त्यसैलाई डिलर बनाएको छु । अहिले ग्याँस र रक्सीको डिलर छ नगरकोटमा मेरो । मैले लगभग नगरकोटभरी नै वितरण गरेको छु ।

हिजो र आजको जिन्दगी हेर्दा के लाग्छ ?
विगत भन्दा भविष्य रुचाउने मान्छे हो म । हिजोको दिन र आजको दिनमा फरक छ । हिजो काठमाडौं जान परे बाटोमा गएर उभिन्थे । आज आफ्नै गाडीमा चढेर जान्छु । परिवर्तन भएको छ । साथीभाईहरु र परिवारको साथ त छँदै छ ।

सन्तुष्ट हुनुहुन्छ ?
पैसाले मान्छेलाई कहिले पुग्दैन । त्यही सोचलाई एकदम दिमागमा राखेर हिँडेको छैन । त्यसरी हिड्यो भने दुर्घटना पनि हुन सक्छ । म अहिले नयाँ संस्थामा छु । पहिलाको सबै संस्थाहरुलाई छोडेर नयाँ शक्तिमा लागेको छु । सन्तुिष्ट भनेको कहिले पनि हुदैँन । तर विस्तारै आफुसँग जे छ त्यसैमा अगाडी बढ्यो भने पुग्छ ।

नयाँ शक्ति भन्नु भयो त्यो कस्तो शक्ति हो ?
पहिला म नेकपा एमालेमा थिए । एमालेमा रहँदा पर्यटन विभागको प्रदेश कमिटि सदस्य, चाँगुनारायण उधोग वाणिज्य संघको अध्यक्ष थिए । अहिले रवि लामिछानेको रास्वपामा छु । यसको विचार सही लाग्यो । यो कति तीब्र गतिमा चलिरहेको छ । जनताले यति छोटो समयमा किन यति ठूलो दल बनाए सोचनीय छ । काँग्रेस, एमाले, माओवादीसँग त जनता वितृष्णा भएको देखिन्छ । यिनीहरुले भ्रष्ट्राचार गरेको हुनाले वितृष्णा भएका हुन । त्यसैको प्रतिफल स्वरुप रास्वपा अगाडि आएको हो भन्ने बुझेवर म अहिले यसको सदस्य भएको हुँ ।

जिम्मेवारी के छ पार्टीमा ?
जिम्मेवारी बुझेर लिने छु । अहिले बुझिरहेको छु । म अहिले नगरकोटको इन्चार्ज भएको छु । जिल्ला नेताहरुसँग समन्वय भइरहेको छ ।

अबको राजनीति कस्तो हुनुपर्च जस्तो लाग्छ ?
युवाहरुको रुची अनसार भइदिए हुन्थ्यो । छिटो पैसा चाहने सोच परिवर्तन हुनुपर्छ । जस्तै आन्दोलनमा जाने पैसा लिने , रक्सी खाने भोलि केही नहुने अवस्था बन्द हुनुपर्छ । जनताको भावनाको कदर गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरेर अघि बढे ८४ मा बहुमत लिन बेर छैन ।

समय र विचारका लागि धन्यवाद ?
जिन्दगी गुराँसको फूल जस्तो हुनु पर्छ । जिन्दगीलाई चलाउन सिक्नु पर्छ । अर्काको भर पर्नु हुदैँन । आफ्नो आत्मबल बलियो पारेर अगाडी बढ्नुपर्छ । पक्कै पनि गन्तव्यमा पुगिन्छ । त्यसकारण जंगलमा गुराँसको फूल आहा कतिराम्रो भन्छौं । त्यो फूल्न कति संघर्ष गरेको होला ? त्यसैले जिन्दगी गुराँसको फुल जस्तै बनाऔं । विचार राख्ने अवसर दिनु भयो हजुरलाई पनि धन्यवाद ।

वार्तालापः विनाेद विक, टाइपः रचना बयलकोटी, सम्पादनः रक्तिम दैलेखी

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.