भर्खरै : Sorry, your browser does not support inline SVG.

दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक

दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक

एजेन्सी, १६ जेठ । द्वन्द्व, गरिबी र असुरक्षाले प्रभावित दक्षिण सुडानमा खाद्य संकट झन् गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्रसङ्घले त्यहाँका ७२ लाखभन्दा बढी नागरिकलाई तत्काल खाद्यान्न सहायता आवश्यक रहेको जनाएको छ।

समाचार संस्था एएफपीका अनुसार दक्षिण सुडानका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कन्ट्री डाइरेक्टर मुटिन्ता चिमुकाले लाखौँ नागरिक खाद्य अभावको मारमा परेको उल्लेख गर्दै उनीहरूको जीवन रक्षा गर्न तत्काल अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ।

उहाँले दक्षिण सुडानको मानवीय अवस्था निकै संवेदनशील बनेको र खाद्य सहायता नपुगे ठूलो मानवीय संकट निम्तिन सक्ने चेतावनी दिनुभएको छ।

यसअघि संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दक्षिण सुडान पूर्ण रूपमा भोकमरीको जोखिमतर्फ उन्मुख रहेको भन्दै अन्तरराष्ट्रिय समुदायलाई शीघ्र सहयोगका लागि आह्वान गर्नुभएको थियो।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिण सुडान केही समयपछि नै गृहयुद्ध र राजनीतिक अस्थिरताको चपेटामा परेको थियो। लामो द्वन्द्व, चरम गरिबी, भ्रष्टाचार, विस्थापन र असुरक्षाका कारण त्यहाँका लाखौँ नागरिक आधारभूत खाद्य आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन्।

मानवीय सङ्गठनहरूले दक्षिण सुडानमा खाद्यान्न, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक राहत सामग्रीको आपूर्ति बढाउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.