भर्खरै : Sorry, your browser does not support inline SVG.

एनआरएनए विश्व सम्मेलन सम्पन्न, लगानी र श्रमिक सुरक्षामा जोडसहित १२ बुँदे घोषणापत्र जारी

एनआरएनए विश्व सम्मेलन सम्पन्न, लगानी र श्रमिक सुरक्षामा जोडसहित १२ बुँदे घोषणापत्र जारी

काठमाडौँ, ३ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित फागुन ३० गतेदेखि सुरु भएको सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हो।

सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने तथा लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्नुपर्ने माग गरिएको छ। सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल सरकार र अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ।

त्यस्तै विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ। उक्त सम्मेलनमा विश्वका विभिन्न देशबाट ४ हजार २ सय ८६ प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।