काठमाडौं, २१ फागुन । देशभर जारी मतदानमा पाँच घण्टाको अवधिमा करिब ३२ लाख मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म आइपुग्दा ३१ लाख ९० हजार ८८ मत खसेको छ । यो संख्या कुल मतदाताको १६.८८ प्रतिशत बराबर रहेको छ ।
देशका विभिन्न जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति बढ्दै गएको छ । प्रदेशगत रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मतदान भएको छ ।
त्यसैगरी सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ । त्यहाँ १०.४६ प्रतिशत मात्रै मत खसेको तथ्यांकले देखाएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार साँझसम्म मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ ।
