भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

पाल्पा, ६ जेठ । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन् ।

“परापूर्वकालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुने नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् भनी आर्शिवाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ”, स्थानीय भुनकुमारी गहतराजले भनिन् ।

सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरेपछि यस ठाउँको नाम पनि जोगीपानी राखेका ज्येष्ठ नागरिकले बताउने गरेका गहतराजले उल्लेख गरिन् । उनका अनुसार यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहेको भन्दै कतिपय मानिस आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन् । आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्दतिमार्फत चिकित्सकले बोली फर्काउने भए पनि खर्चिलो हुने र सहज नहुने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरूले यहाँको पानी उपयोग गर्ने गर्दछन् ।

यसको वैज्ञानिक तथ्य भने अहिलेसम्म फेला पर्न नसकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले बताए । धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि अहिलेसम्म त्यस्तो वैज्ञानिक आधारहरू भने फेला नपरेको उनले जानकारी दिए । प्राध्यापक थापाले भने, “शारीरिक विकास ढिलोचाँडो हुन्छ तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार भने अहिलेसम्म पाइएको छैन ।” यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिने उनको भनाइ छ ।

यस कुवाको प्रचारप्रसार हुन नसक्दा धेरैलाई यसबारेमा थाहा नभएको स्थानीय गहतराजले बताइन्। उनका अनुसार थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाटसमेत मानिस आउने गरेका छन् । उनले भनिन्, “केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।” कुवा बाटोको छेवमा अवस्थित छ । लामो समय कुना सडक छेउमा भए पनि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताइन् ।

“अहिले पानी सडकबाट तल लगेर अर्को ट्याङ्की निर्माण गरी प्रयोगमा ल्याइएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि ?”, उनले प्रश्न गरिन् । कतिपय यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेका उनको भनाइ छ । आफ्नो छोरी आठ/दश वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्नसक्ने भएकी स्थानीय कमला गहतराजले उल्लेख गरिन् । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उनले जानकारी दिइन् ।

यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवा नजिकै सूचना राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन् । स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसके आम्दानीको स्रोत बन्नसक्ने पत्रकार प्रकाश नेपालले बताए । उनले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए । तानसेन नगरपालिका–११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरे । आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडर कुवाको वास्तविकता अुनसन्धानमार्फत पत्ता लगाउने योजना रहेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.