काठमाडौँ, १५ भदाै । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा आफैँ स्थलगत रूपमा खटिएर सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइरहेका छन् ।

बिहानै देखि खिनै चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडकको निर्माण तथा स्तरोन्नतिको काममा भइरहेकाे छ । बाढी तथा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गलाई व्यवस्थित र सुरक्षित बनाउने काम अघि बढाइएको हो । सडक निर्माणसँगै बाटोलाई फराकिलो र सहज बनाउने कामसमेत तीव्र पारिएको छ ।
वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले निर्माणका क्रममा देखिएका समस्या पहिचान गरी आवश्यक समाधान गर्दै काम अघि बढाइएको जनाइएको छ । सडक सहज बनेपछि प्रभावित क्षेत्रमा आवतजावत गर्ने नागरिकसँगै राहत तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री थापाले जनताको सहज र सुरक्षित यात्राका लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिइरहेको बताएका छन् । विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्याउन सडक पहुँच महत्वपूर्ण भएकाले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ ।
मुख्यमन्त्री थापा स्थलगत रूपमा आफैँ खटिएर कामको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई आवश्यक निर्देशनसमेत दिइरहेका छन् ।
