भोटेकोशी बाढीबाट हालसम्म ९०३ जनाको मानवीय क्षति पुष्टि ।
४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क ।
१० हजार ४५१ जनाको उद्धार, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन ।
काठमाडौँ, १५ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म ९०३ जनाको मानवीय क्षति भएको पुष्टि भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १५ गते बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरण सार्वजनिक गर्दै बाढीका कारण ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार नवलपरासी पूर्वमा २०७, चितवनमा २७२, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७, रसुवामा २४ तथा नुवाकोटमा ९५ शव वा मानव अङ्ग फेला परेका छन् ।
सम्पर्कविहीनमध्ये रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना रहेका छन् । त्यस्तै विदेशी नागरिक ५९२ जना, विभिन्न जलविद्युत् आयोजनासँग सम्बन्धित ९३३ जना तथा मकवानपुरका ६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ तथा भन्सार कार्यालयका १५ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हवाई उद्धारमार्फत मात्रै २५२ विदेशी नागरिक र ३ हजार ३४४ नेपालीको उद्धार गरिएको छ ।
बाढीमा परी २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ ।
उद्धार तथा राहत कार्यका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।
प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन ३७ ट्रक र ३५ बोलेरो प्रयोग गरिएको छ । भदौ १३ र १४ गते रसुवा तथा नुवाकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत २ टन खाद्य सामग्री, ५ वटा पोर्टेबल जेनेरेटर तथा स्वास्थ्य सामग्री पठाइएको छ ।
नेपाल सरकारले रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ नगद राहत विनियोजन गरेको छ ।त्यस्तै प्रभावित १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको राहत रकम विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।प्रभावित क्षेत्रमा हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।
पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवसम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक पोर्टल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत लिन सकिने जनाइएको छ ।
