भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर

रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर

काठमाडौं, २२ भदौ । चीनसँग व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी दुवै नाका ठप्प भएपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ । भदौ १० गते आएको बाढीका कारण रसुवागढी नाकामा ठूलो क्षति पुगेको छ ।

त्यस्तै, चीनले सडक मर्मत तथा सुरक्षाको कारण देखाउँदै तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा रहेको छ । मुख्य व्यापारिक नाका बन्द भएपछि नाका परिवर्तन गरेर सामान ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । यसले ढुवानी खर्च बढाउँदा नजिकिँदै गरेका दशैँ, तिहारलगायतका चाडपर्वमा बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने व्यवसायीहरूले बताएका छन् ।

व्यवसायीहरूका अनुसार तातोपानीबाट काठमाडौंसम्म सामान ल्याउँदा प्रतिकन्टेनर करिब ७५ हजार रुपैयाँ र रसुवागढीबाट करिब १ लाख ५० हजार रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको थियो । तर, काठमाडौंभन्दा ४०० किलोमिटरभन्दा बढी दूरीमा रहेको कोरला नाकाबाट सामान ल्याउँदा प्रतिकन्टेनर करिब ४ लाख रुपैयाँसम्म खर्च हुने गरेको उनीहरूको भनाइ छ ।

त्यसमा पनि जोमसोमभन्दा माथिको सडक कच्ची तथा अप्ठेरो भएकाले सामान ढुवानीमा थप समस्या र ढिलाइ हुने व्यवसायीहरूले बताएका छन् । चीनले सडक मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न नमानेको बताइएको छ । यस्तो अवस्थामा व्यापारीहरूले तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन् ।

तातोपानी नाका तत्काल खुल्न नसके कोरला नाकाबाट भित्रिएका सामान काठमाडौंसम्म सहज रूपमा ल्याउने वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । विशेषगरी कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था मिलाउन व्यापारीहरूले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन सम्भव देखिँदैन । तातोपानी नाका पनि नखुले दशैँ, तिहारलगायतका चाडपर्वमा बजारमा सामानको अभाव हुनसक्ने वा मूल्य बढ्न सक्ने उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.