भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

मुक्तिनाथमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा अवस्थित हिन्दू बौद्ध धर्मावलम्बीको साझा तीर्थ मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) का रुपमा लिने प्रचलन छ । मुक्तिनाथ मन्दिर भएका कारण मुक्ति क्षेत्रका रुपमा ख्याति कमाएको यस क्षेत्र हुँदै बग्ने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व अझै चुलिएको छ । मुक्तिनाथको दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास रहेको बताउँदै पुजारी सुवेदीले आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या धेरै हुने गरेको बताए ।

सोह्रश्राद्धको समयमा आउने दर्शनार्थीले कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्दछन् । कागबेनीमा आई मुक्तिनाथमा दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकी किनारामा पाइने शालग्रामलाई भगवानको साक्षात स्वरुप मानिन्छ । सोही कारण मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीले कागवेनी किनारामा उक्त शिला खोजेर घरघरमा पूजाआजा गर्न लैजाने प्रचलन पनि छ । शालग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ । जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो । पौराणिक मान्यताअनुसार शालग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती छन् ।

एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए । जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला (शालिग्राम), पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ ।

सोह्रश्राद्ध सुरु हुन लागेसँगै यस क्षेत्रमा चहलपहल बढिरहेको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक एवं जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । पर्यटक आगमनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय पर्यटन व्यवसायीले उनीहरूको स्वागतार्थ जुटसकेको उनले बताए ।

रानीपौवा क्षेत्रमा मात्रै विभिन्न सुविधासम्पन्न २६ वटा होटेल सञ्चालनमा आइसकेको जानकारी दिँदै उनले हालसम्म डेढ अर्बभन्दा बढी लगानी भइसकेको बताए । विशेषतः चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा मुक्तिनाथमा ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो पर्यटकीयरुपमा पनि उत्तिकै महत्वको छ ।

मुक्तिनाथको दर्शनका लागि बर्सेनि ठूलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेको उनले जानकारी दिए । मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् ।

मुक्तिनाथमा पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी बस्ने र बाहिर ब्राह्मण पुजारीले पूजा गराउने प्रचलन छ । भारतीय प्रधानमन्त्रीले मुक्तिनाथ दर्शन भ्रमण गरे यता भारतबाट बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

सोह्रश्राद्ध सुरु हुन लागेसँगै मुस्ताङको सदरमुकाम जोमसोममा चहलपहल बढिरहेको व्यवसायीहरू बताउँछन् । पछिल्ला समयमा जोमसोममा पर्यटक लक्षित सुविधासम्पन्न होटेल पनि धमाधम थपिन थालेको होटेल शालिग्रामका सञ्चालक रविन्द्र सुवेदीले जानकारी दिए ।

“हामीले पर्यटकको चाहनाअनुसार सुविधा सम्पन्न पूर्वाधारमा जोड दिएका छौँ”, उनले भने, “मुस्ताङको भ्रमण गर्न आउने पर्यटकले खान, बस्न स्तरीय सेवासुविधा पाउँछन् ।” मुस्ताङमा विस्तारै चहलपहल बढ्दै गएको उल्लेख गर्दै उहाँले यस याममा ठूलै सङ्ख्यामा पर्यटकहरू भित्रने अपेक्षा गरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.