सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्‍याउन समस्या

सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्‍याउन समस्या

रोल्पा, ५ भदौ । रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा गाउँका बाढीपहिरो प्रभावितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ–ठाउँमा सडक अवरुद्ध भएपछि प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउन कठिन भएको गाउँपालिकाले जनाएको छ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइरहेको भए पनि सडक अवरुद्ध भएका कारण अन्य संघसंस्था तथा निकायलाई राहत सामग्री प्रभावितसम्म पुर्‍याउन समस्या भएको हो।

गाउँपालिकाले भने भरियामार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई राहत वितरण गरिरहेको जनाएको छ। प्रभावितका लागि तत्काल आवश्यक ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न तथा लत्ताकपडालगायत सामग्री वितरण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो।

उवा पुग्ने मुख्य सडक विभिन्न ठाउँमा पहिरोले भत्किएपछि राहत सामग्री फुलीवन, पोबाङ र माबाङमै रोकिएका छन्। सडक तत्काल खुल्ने अवस्था नरहेको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षाका कारण सडक खुलाउने प्रयाससमेत जोखिमपूर्ण बनेको छ।

कतिपय ठाउँमा पहिरो तथा ढुंगा खस्ने जोखिम रहेकाले पैदल बाटोसमेत प्रयोग गर्न कठिन भएको छ। केही संघसंस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन्।

सडक, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा पहिरो प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन २७ गते थबाङ गाउँपालिका–५ उवामा बाढीपहिरो गएको थियो। त्यसको भोलिपल्ट साउन २८ गते राति सुनछहरी गाउँपालिका–२ भित्रीगामका विभिन्न स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको थियो। पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.