भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सलाँ गणेश मन्दिर पछाडिको ऐतिहासिक पाटीको पुनः निर्माण सम्पन्न, विशेष समारोहबीच उद्घाटन

सलाँ गणेश मन्दिर पछाडिको ऐतिहासिक पाटीको पुनः निर्माण सम्पन्न, विशेष समारोहबीच उद्घाटन

भक्तपुर, १०  श्रावण । भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको प्राचीन पाटीको पुनः निर्माण सम्पन्न भई शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय उपभोक्ता समितिको पहलमा पुनर्निर्माण सम्पन्न पाटीको उद्घाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरलाई सम्पदाको सहरको रूपमा चिनाउँदै सम्पदा संरक्षणलाई नगरपालिकाले विशेष प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो। उहाँले अरनिको सभा भवन र दरबार क्षेत्रका अन्य सम्पदाहरूको पुनः निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो।

“सम्पदा संरक्षणमा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण छ। यस्ता संरचनाले इतिहास, संस्कृति र स्थानीय पहिचान जगेर्ना गर्छन्,” नगर प्रमुख प्रजापतिले भन्नुभयो। साथै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माणमा टेवा पुर्‍याइरहेको तथा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर सेवा प्रदान गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा वडा नं ९ का अध्यक्ष रविन्द्र ज्याख्वले पाटी पुनः निर्माणको हिसाबकिताब पारदर्शी बनाउन सार्वजनिक सुनुवाइको आवश्यकता रहेको धारणा राख्नुभयो। उहाँले प्रत्येक वडाले एउटा सम्पदाको संरक्षण वा पुनः निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिँदै सलाँ गणेश पछाडिको फल्चा करिब ३ सय वर्ष पुरानो रहेको र पुरानै शैलीमा निर्माण गर्न प्रयास गरिएको बताउनुभयो। साथै, मन्दिरको जिर्णोद्वारसँगै पोखरी वरपरको सौन्दर्यीकरण पनि उपभोक्ता समितिमार्फत अघि बढाइने जानकारी दिनुभयो।

सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षति पु‍र्‍याएको यो पाटी लामो प्रयासपछि पुनः निर्माण सम्पन्न भएको बताउनुभयो। सलाँ गणेश पोखरी उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लवजुले ५४ लाख रुपैयाँको लागत इस्टिमेटमा पोखरीको जिर्णोद्वार भइरहेको र हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो।

त्यस्तै, पाटी उपभोक्ता समितिका कोषाध्यक्ष रत्ना चवालले हालसम्म पाटी पुनः निर्माणमा १९ लाख ६४ हजार ५१२ रुपैयाँ खर्च भइसकेको विवरण सार्वजनिक गर्नुभयो। कार्यक्रमको अन्त्यमा पूर्व वडा सदस्य तथा पाटी पुनः निर्माण समितिका अध्यक्ष जगतलाल मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 


Thali Mobile Pvt.Ltd.