भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

वाग्मतीका स्वास्थ्य मन्त्री किरण थापाको एक वर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि अस्पताल स्तरोन्नतिसम्म

वाग्मतीका स्वास्थ्य मन्त्री किरण थापाको एक वर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि अस्पताल स्तरोन्नतिसम्म

हेटौंडा, १० साउन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफ्नो एक वर्षे कार्यकालमा प्रदेशको स्वास्थ्य प्रणालीमा नीतिगत सुधार, पूर्वाधार विस्तार र गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभएको छ।

हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि”, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम सुरु गरिँदै गरेको जानकारी दिनुभयो।

स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन लगायतका कानुनी दस्तावेजहरूको संशोधन प्रक्रिया अगाडि बढाइएको छ। स्वास्थ्य संस्था दर्ता, अनुमति र नवीकरण प्रक्रिया अनलाइन प्रणालीबाट सुरु भइसकेको मन्त्री थापाले जानकारी दिनुभयो।

रसुवा, दोलखा, सिन्धुली लगायत दुर्गम जिल्लाहरूमा प्रोत्साहनसहित विशेषज्ञ चिकित्सक परिचालन गरिएको छ। “अब जनताले विशेषज्ञ सेवाका लागि काठमाडौं धाउनु पर्दैन,” मन्त्री थापाले भन्नुभयो।

११ प्रकारका आयुर्वेदिक औषधिबाट सुरु भएको उत्पादन अहिले २१ प्रकारमा विस्तार गरिएको छ। नुवाकोट र चितवनमा विशेषज्ञ आयुर्वेद सेवा सुरु भइसकेको छ भने अन्य जिल्लामा तयारी भइरहेको जानकारी दिइयो। साथै, प्रदेश योग समिति गठन भई योग र प्राणायामलाई संस्थागत गरिँदै छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा र भक्तपुरमा ३०० शय्या, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शय्या, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शय्या, र रसुवा, टोखा, बज्रबाराहीमा २५ शय्याका अस्पताल सञ्चालनमा छन्। सबैमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR), डिजिटल प्रणाली र क्लिनिकल अडिट लागू हुने चरणमा छ।

गर्भवती र सुत्केरीको हवाई उद्धार, बर्थिङ सेन्टर सशक्तीकरण कार्यक्रम जारी छ। अटिजम, थालसेमिया, हेमोफिलिया लगायत अनुवांशिक रोगको निःशुल्क उपचार भइरहेको छ। विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा र सम्मान कार्यक्रम पनि सञ्चालनमा छ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार, हेटौंडा अस्पतालमा मुटु रोग उपचार सुरु भइसकेको छ भने भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार हुँदैछ। प्रादेशिक अस्पतालमा नर्सिङको प्रमाणपत्र तहको अध्ययन सुरु हुने जानकारी पनि दिइएको छ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालय प्रमुख डा. नरेन्द्रकुमार झा र आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा लगायतको सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.