मुख्य बुँदा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल जलकुम्भी र झारपातका कारण सुक्दै र पुरिँदै।
प्राकृतिक तालहरू वन्यजन्तुको पानी स्रोतका रूपमा महत्वपूर्ण।
निकुञ्जको बजेट रु ३४ लाख मात्र, जसले संरक्षण र पर्यटन पूर्वाधारमा चुनौती।
क्षेत्रीय जैविक विविधता उच्च, स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक।
निकुञ्जमा ४० वटा कृत्रिम ताल पनि रहेका छन्।
कञ्चनपुर, १८ भाद्र । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् ।
“हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी वाग्लेले भने । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् ।
शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् ।
यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ । रासस
