भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि काम तीव्र: अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत

सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि काम तीव्र: अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा, २५ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ । सुरुङमार्गको वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार एक सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरु भएको हो ।

सुरुङमार्ग छिचोलिएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको नौ सय ९० मिटर काम सकिएको छ, भने लाइनिङको एक हजार एक सय २६ मध्ये छ सय ६० मिटर काम सकिएको हो ।

इन्जिनियर ज्ञवालीले बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको र बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको जानकारी दिनुभयो । बाइपास–१ मा एक सय ५१ मिटर रहेकामा एक सय ४५ मिटर र लाइनिङको एक सय १८ मिटर काम भइसकेको उहाँले बताउनुभयो ।

बाइपास–२ मा एक सय ६१ मिटर छ । तर यसमा इन्भर्ट र लाइनिङको काम शुरु भएको छैन । बाइपास–३ मा एक सय ३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ । सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उहाँले जानकारी दिनुभयो । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिनेछ ।

२०८३ सालमा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ ।

सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यो खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताउनुभयो । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म गाडी आवतजावत गर्छन् । रासस