भर्खरै : Sorry, your browser does not support inline SVG.

उदयपुरमा हावाहुरीले २ जनाको ज्यान, ५ घाइते-सतर्क रहन आग्रह

उदयपुरमा हावाहुरीले २ जनाको ज्यान, ५ घाइते-सतर्क रहन आग्रह

काठमाडौँ, ३ फागुन । उदयपुरको कटारीमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

हिजो बेलुकी आएको तीव्र हावाहुरीका क्रममा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक हावाले सुकेको सालको रुख ढल्दा चौधरीको ज्यान गएको हो। उक्त घटनामा रुखले लागेर पाँच जना घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

यस्तै कटारी नगरपालिका–८ मा घरमै बसिरहेका बेला हावाले भाँचिएको रुखको हाँगाले लागेर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। प्रि–मनसुनको समयमा दिउँसोपछि हावाहुरी, मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना बढी हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि घरको संरचना बलियो बनाउने, हावाहुरी चलेको बेला घरभित्र सुरक्षित बस्ने तथा यात्रा गर्दा सुरक्षित स्थानमा आश्रय लिनुपर्ने सुझाव दिइएको छ।हावाहुरीको समयमा रुख वरपर वा कमजोर संरचना भएका स्थानमा नबस्न पनि विज्ञहरूले आग्रह गरेका छन्।