भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

जाडो मौसममा कागतीको बजार माग घट्यो

जाडो मौसममा कागतीको बजार माग घट्यो

स्याङ्जा, ६ पुष । जाडो मौसम सुरु भएसँगै यहाँ उत्पादन भएको कागती बिक्री नभएपछि स्याङ्जाका किसानले वैकल्पिक उपायको खोजी गरेका छन्। वालिङ नगरपालिकाका विभिन्न स्थानमा व्यावसायिक रूपमा उत्पादन गरिएको कागतीको दानाले बजार नपाएपछि किसानले कागती पेलेर रस तथा चुक बनाएर बिक्री गर्न थालेका हुन्।

जाडो याममा कागती दानाको माग कम हुने भएकाले बजारमा खपत हुन नसकेको र बिग्रिन नदिनका लागि चुक बनाइएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए।

व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका न्यौपानेले झण्डै छ क्विन्टल कागती दाना बिक्री गरेका थिए। जाडो बढेपछि बिक्री नभएको करिब चार क्विन्टल कागतीबाट रस तथा चुक उत्पादन गरिएको उनले जानकारी दिए।

‘कागतीको दाना बोटबाट दैनिक झर्न थाल्यो, तर बजारमा खपत भएन,’ न्यौपानेले भने, ‘कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म टिक्ने भएकाले चुक र केही समयसम्म राख्न मिल्ने भएकाले रस बनाएर बिक्री गर्न थालेको छु।’

कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको उनको भनाइ छ। हाल कागतीको चुक प्रतिलिटर एक हजार ६०० रुपैयाँका दरले बिक्री भइरहेको छ। न्यौपाने जस्तै यस क्षेत्रका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक प्रशोधन विधि अपनाउन थालेका छन्।

वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानहरूले उत्पादन गरेका सागसब्जी, फलफूललगायत सामग्रीलाई आगामी दिनमा सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारी गरेका छन्।

मौसमी तथा बेमौसमी सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी र अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका किसानले उत्पादनको उचित बजार नपाएपछि सहकारीमार्फत बिक्री प्रणाली विकास गर्न लागेका हुन्।

भौगोलिक बनावट र यातायातको सीमित पहुँचका कारण बजारीकरणमा समस्या भइरहेको किसानहरूको गुनासो छ। वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागती किसान यामप्रसाद पौडेलले साउनयता झण्डै आठ टन कागती दाना बिक्री गरेको बताए।

जाडो सुरु भएपछि बिक्री घटेपछि करिब एक टन कागती पेलेर रस बनाइएको उनले बताए। ‘गर्मी याममा जस्तो जाडोमा कागतीका दाना बिक्री हुँदैन,’ पौडेलले भने, ‘थोरै मात्र बिक्री हुन्छ, बाँकी कागतीलाई पेलेर रस निकालेर प्रशोधन गर्छु, जसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ।’

हाल उनीसँग करिब पाँच सय लिटर कागतीको रस भण्डारणमा रहेको छ। भण्डारण र प्रशोधनको उचित व्यवस्था भए गर्मी सुरु भएसँगै राम्रो मूल्य पाउने उनको विश्वास छ।

 


Thali Mobile Pvt.Ltd.