भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रस्तावित आचारसंहिता : यस्तो छ निर्वाचनका दिन सवारीसाधन प्रयोग गर्ने व्यवस्था

प्रस्तावित आचारसंहिता : यस्तो छ निर्वाचनका दिन सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ, ६ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिई कुनै पनि उम्मेदवार वा राजनीतिक दलले सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रस्तावित आचारसंहिताअनुसार आयोग वा निर्वाचन अधिकृतबाट अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारी प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न पाइने छैन। अनुमति नलिई सवारीसाधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिने व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले अनुमति विना प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिई त्यसको जानकारी सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने उल्लेख छ।

निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

सवारीसाधन नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने पनि प्रस्तावित आचारसंहितामा उल्लेख छ। विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने र त्यस्ता सवारीका लागि कुनै पनि किसिमको अनुमति नदिइने स्पष्ट गरिएको छ।

राजनीतिक दलले प्रक्रिया पूरा गरी आयोगले स्वीकृत गरेको सङ्ख्या र प्रकारका सवारीसाधन मात्रै प्रयोग गर्न पाउनेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि निषेध गरिएको छ।

अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने र अनुमति नलिएका उम्मेदवारले त्यस्ता सवारी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। साथै कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाउने उल्लेख छ।

तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ।

यसैगरी राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समावेश गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.