मुख्य बुँदा
थापाथली, शंखमूल र गैरीगाउँ क्षेत्रमा बस्ती खाली गर्ने अभियान तीव्र
तीनकुने–गैरीगाउँका बासिन्दाले सामान सार्न थाले
आज र भोलि दुई दिनभित्र बस्ती खाली गर्ने योजना
वास्तविक भूमिहीनलाई पाँच स्थानमा पुनर्स्थापना गर्ने तयारी
इचङ्गु, कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा व्यवस्थापन
काठमाडौं, १२ बैशाख । बागमती नदी किनारका अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत काठमाडौंको थापाथली, शंखमूल र प्रसूति गृह आसपासका बस्ती खाली गर्ने काम तीव्र पारिएको छ। सोही क्रममा तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले पनि आफ्ना सरसामान सार्न थालेका छन्।
बागमती र मनोहरा नदी किनारका अवैध बस्ती हटाउने सरकारी अभियानसँगै स्थानीय बासिन्दाहरू आफैं घरटहराबाट सामान सारेर बस्ती खाली गर्न थालेका हुन्। प्रशासनले आज र भोलि गरी दुई दिनभित्र बस्ती खाली गर्ने लक्ष्य लिएको छ।
सरकारले अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका वास्तविक भूमिहीन तथा सुकुम्बासीका लागि अस्थायी पुनर्स्थापना व्यवस्था गर्ने तयारी गरेको छ। यसका लागि काठमाडौँ उपत्यकाका पाँच स्थानमा वैकल्पिक बसोबासको व्यवस्था गर्न लागिएको छ।
सरकारी योजनाअनुसार नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबाग क्षेत्रमा भूमिहीन परिवारलाई स्थानान्तरण गरिनेछ।
काठमाडौं, १२ बैशाख । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनेका संरचना हटाउन डोजर चलाउन सुरु गरिएको छ। केहीबेर अघिदेखि दुईवटा डोजर प्रयोग गरी बस्ती भत्काउने काम अघि बढाइएको हो।
अनधिकृत संरचना हटाउनुअघि बस्ती खाली गर्न केही समय थप गरिएको थियो। सो क्रममा बस्तीका बासिन्दालाई सामान सार्नका लागि प्रहरीले सहयोग समेत गरेको थियो।
हाल बस्ती क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य जारी छ। काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति सहित सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौं महानगर प्रहरी बलका अनुसार थापाथलीपछि आजै गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा पनि हटाउने प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।