भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम

सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम
मुख्य बुँदा

सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइयो

कोशी प्रदेशका डीआईजी र सुनसरीका एसपीको पनि सरुवा

घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

झडपमा एक जनाको मृत्यु, २९ जना घाइते

काठमाडौं, ११ साउन  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको सामुदायिक झडपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको हेरफेर गरेको छ ।

मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाउने निर्णय गरेको छ ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ । उनको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।

यस्तै, सशस्त्र प्रहरी बलको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उनको स्थानमा डीएसपी मदननाथलाई खटाइएको छ । देवानगञ्जको कप्तानगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरी गरी २९ जना घाइते भएका छन् ।गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरिसकेको छ । प्रारम्भिक विवरणअनुसार धार्मिक झण्डा हटाएर अर्को झण्डा राखिएको तथा मन्दिर क्षेत्रमा ठूलो आवाजमा डिजे बजाइएका विषयलाई लिएर विवाद चर्किएको बताइएको छ ।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा निषेध आदेश जारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.