इरान । इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा बलको दमनबाट मृत्यु हुनेको संख्या २ हजार ५०० नाघेको छ। मानवअधिकारवादी समूहहरूले अस्पताल तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै मृतकको यो तथ्यांक सार्वजनिक गरेका हुन्।

यसैबीच, इरानी अधिकारीहरूले अन्तर्राष्ट्रिय फोन कल सेवामा लगाइएको प्रतिबन्ध हिजादेखि आंशिक रूपमा हटाएका छन्। तर इन्टरनेट भने अझै ठप्प पारिएको छ। देशका १८० भन्दा बढी शहरमा फैलिएको यो आन्दोलन इरानी मुद्राको अवमूल्यन र आर्थिक संकटविरुद्ध शुरु भए पनि अहिले शासन व्यवस्था परिवर्तनको मागमा केन्द्रित भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै दर्जनौँ प्रदर्शनकारी मारिएको र १८ हजारभन्दा बढी मानिस पक्राउ परेको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ‘मद्दत आउँदैछ’ भन्ने आश्वासन दिएका छन्। उनले हत्या नरोकिए सैन्य कदम चाल्ने चेतावनी समेत दिएका छन्। इरानी सरकारले भने आन्दोलनलाई विदेशी शक्तिले उक्साएको आरोप लगाउँदै आएको छ।

एजेन्सी । गाजा क्षेत्रमा इजरायली सैन्य कारबाहीको बीचमा इजरायलकै दुई मानव अधिकार संगठनहरूले आफू सरकारका नीतिबाट गम्भीर रूपमा असन्तुष्ट भएको जनाएका छन् । उनीहरूले गाजामा भएको सैन्य कारबाहीलाई नै नरसंहारको संज्ञा दिएका छन् ।

बिटी सेलम नामक प्रतिष्ठित इजरायली मानव अधिकार संस्थाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा गाजामा भएको आक्रमणप्रति तीव्र आपत्ति जनाउँदै आम सर्वसाधारणलाई लक्षित गरी गरिएको हिंसाको आलोचना गरिएको छ । गाजाको अवस्था प्रत्यक्ष अवलोकन गरेर फर्किएको टोलीले त्यहाँको मानवीय संकट, बिनाऔषधि उपचार र सुरक्षित आश्रयको अभावका कारण सर्वसाधारणमाथि चरम पीडा परेको निष्कर्ष निकालेको छ ।

यस्तै, फिजिसियन फर ह्युमन राइट्स इजरायल नामक अर्को संस्थाले पनि इजरायलले गाजामा देखाएको व्यवहारलाई नरसंहारका रुपमा परिभाषित गरेको छ । गाजामा व्यापक रूपमा स्वास्थ्य सेवा ध्वस्त हुनु, बालबालिका र वृद्धवृद्धाहरूको अवस्थालाई गम्भीर रूपमा लिएर उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई समेत सचेत गराएका छन् । तर इजरायली अधिकारीहरूले भने यी दावीहरूलाई अस्वीकार गरेका छन् । सरकारका प्रवक्ता डेभिड मेन्सरले उक्त रिपोर्टलाई पूर्वाग्रही र तथ्यविहीन भनेका छन् । इजरायली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यी मानव अधिकार संस्थाहरूको रिपोर्ट राजनीतिक एजेन्डाबाट प्रेरित भएको आरोप लगाइएको छ ।

इजरायली सरकारको तर्फबाट भनिएको छ कि ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि आफ्नो सुरक्षाका लागि सो कारबाही सुरु गरिएको हो र उनीहरूको निशाना केवल हमासका आतङ्ककारी संरचना हुन्, सर्वसाधारण हैनन् । तर घटनास्थलबाट फर्किएका स्वतन्त्र संस्थाहरूको ठहर भने स्पष्ट छ – गाजाको संकट अब केवल सैन्य द्वन्द्व हैन, यो मानवीय र नैतिक संकटमा बदलिएको छ ।