एजेन्सी । गाजा क्षेत्रमा भोकमरीका चपेटामा परेका झन्डै १० हजार परिवारलाई राहतकर्मीहरूले नगद सहायता उपलब्ध गराएका छन् । तर, स्थानीय बजारमा खाद्यान्नको चरम अभावका कारण उनीहरूलाई खरिद गर्न कठिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालय (OCHA) का अनुसार बजारका मूल्यहरू अत्यधिक अस्थिर छन्, जसले अधिकांश गाजावासीलाई खाद्य वस्तु खरिद गर्न असहज बनाएको छ । यद्यपि इजरायलले राहत सामग्री प्रवेशका लागि आंशिक अनुमति दिएको भए पनि गाजामा पर्याप्त मात्रामा सहयोग पुग्न सकेको छैन ।

ढुवानी मार्गमा अवरोध र जोखिम भएका कारण सहायता सामग्री बोकेको गाडीहरू निर्धारण गरिएका नाकाबाट सहज रूपमा गन्तव्यसम्म पुग्न सकिरहेका छैनन् । खाद्यान्न खोज्ने क्रममा विगत दुई दिनमा सयभन्दा बढी मानिस मारिएको रिपोर्ट सार्वजनिक भएको छ । धेरैजसो घटना इजरायली सैनिकद्वारा नियन्त्रित वितरण केन्द्र वा ढुवानी मार्ग वरिपरि भएको बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का उपकार्यकारी निर्देशकले गाजामा मानवीय संकट गहिरिँदै गएको भन्दै भनेका छन्, “हामीलाई दिनमा करिब ५ सय ट्रक राहत सामग्री पठाउन आवश्यक छ ताकि जनताको पीडा घटोस । गाजाका सबै मार्ग खुला गरिनुपर्छ ।”

गाजामा अहिले इन्धन आपूर्तिको अवस्था पनि अत्यन्तै कमजोर छ । सीमित मात्रामा पुगेको इन्धनले स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा आपतकालीन सञ्चार सेवा सञ्चालनमा समेत असर पुर्‍याइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

काठमाडौं, ६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन् । यो निर्णय अनुसार गाजामा भोकमरीको सम्भावना न्यून गर्न केही अत्यावश्यक राहत सामग्री सीमित मात्रामा प्रवेश गराइनेछ ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सूचनामा गाजावासीलाई आधारभूत खाद्य सामग्री उपलब्ध गराउने बताइएको छ । तर यो निर्णय प्रधानमन्त्री नेतान्याहुको आफ्नै सरकारभित्र रहेका केही राष्ट्रवादी मन्त्रीहरूको विरोधमा आएको हो । राष्ट्र सुरक्षा मन्त्री इतामार बेन गभीर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यदि गाजामा सहायता पुनः शुरू भयो भने सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच झण्डै साढे दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ। ट्रम्पले युद्ध अन्त्यका लागि रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्नुपर्ने बताएका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र पुटिनसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । जेलेन्स्कीले यो क्षण निर्णायक रहेको भन्दै अमेरिका शान्तिवार्ताबाट टाढा नहुन आग्रह गरे । बीबीसीका अनुसार पुटिनले भने पश्चिमाको ३० दिने बिना सर्त युद्धविरामको मागमा कुनै स्पष्ट प्रतिबद्धता जनाएका छैनन् । जेलेन्स्कीले रूस तयार नभए उसमाथि कडा प्रतिबन्ध आवश्यक रहेको बताएका छन् ।