मुख्य बुँदा

२५ वर्षमा २६ लाखभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा

सन् २०२५ मा सबैभन्दा धेरै करिब ३ लाख पर्यटक

कोभिड–१९ र भूकम्पका बेला पर्यटक आगमन घटेको तथ्याङ्क

सन् २०२२ पछि पुनः तीव्र वृद्धि

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वप्रसिद्ध गन्तव्य

प्राकृतिक सौन्दर्य र संस्कृति पर्यटक आकर्षणका मुख्य कारण

कास्की, २६ माघ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी दुई लाख ९९ हजार ८ सय ३१ पर्यटक भित्रिएका छन् ।

यो अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १ सय ५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’ को आँकडाले देखाएको छ । कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक  एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९ सय ३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७ सय २३, सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गएको वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गएको वर्ष आएका पर्यटकमध्ये दक्षिण एशियाली मुलुकका एक लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका एक लाख २२ हजार २ सय ३ रहेका ‘एक्याप’ का प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उहाँले बताउनुभयो । ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्’, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ ।

आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस

मुख्य बुँदा :

अन्नपूर्ण क्षेत्रमा यस वर्ष पर्यटक आगमन गत वर्षभन्दा बढ्यो।

स्थानीय र विदेशी दुवै प्रकारका पर्यटक आकर्षित भएका छन्।

सुधारिएको पूर्वाधार र स्थानीय सत्कारले वृद्धि भएको पर्यटन व्यवसायीको भनाइ।

नयाँ ट्रेकिङ मार्ग र पर्यटकीय गतिविधिहरूले सहयोग पुर्‍याएको।

पर्यटनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ।

आगामी दिनमा थप लगानी र प्रचारप्रसार गर्ने योजना।

गण्डकी, २ साउन । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०र८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा गत आव २०८१र८२ दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक रहेका छन् । एक वर्षको अन्तरमा ५५ हजार एक सय ३३ पर्यटक बढेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए ।

गत आवमा सबैभन्दा बढी चैत महिनामा ४४ हजार नौ सय ७७ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए । सबैभन्दा कम साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक उक्त आएका थिए ।

यस्तै भदौमा १३ हजार दुई सय ७९, असोजमा ३० हजार सात सय ३२, कात्तिकमा ३३ हजार तीन सय १०, मङ्सिरमा १४ हजार ११, पुसमा १४ हजार ३३, माघमा ९ हजार ३४, फागुनमा १९ हजार चार सय ७०, वैशाखमा ४१ हजार आठ सय ५३, जेठमा ३१ हजार नौ सय ५५ र असारमा १९ हजार सात सय ४९ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले बताए ।

दुई मुख्य पर्यटकीय याम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको प्रमुख डा कडरियाले बताए । पर्यटक आगमन दरमा बर्सेनि वृद्धि भइहरेको उनको भनाइ छ । आव २०७९र८० मा एक लाख ७२ हजार एक सय आठ पर्यटक यस क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन् ।

कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको आयोजना प्रमुख डा रविन कडरियाले बताए । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य हो । वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सयमयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।

सडक मार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्य स्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । रासस