आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ८ हजार ४७६ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगे।
अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन झण्डै दोब्बर।
सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटकले भ्रमण गरे।
चीन दोस्रो र अमेरिका तेस्रो ठूलो स्रोत बजार।
पदयात्रा, मुक्तिनाथ र पोखराको आकर्षणले पर्यटक संख्या बढ्यो।
गण्डकी, ३ साउन । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२र८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
आव २०८१र८२ को तुलनामा गत आवमा दोब्बर बढी पर्यटक यहाँ आएका बताउँदै आयोजना प्रमुख डा रवीन कडारियाले आव २०८१र८२ दुई लाख ७८ हजार ११३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका जानकारी दिए । “गत आवमा पर्यटक आगमनमा नयाँ अभिलेख कायम भएको छ, सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्”, उनले भने ।
आयोजना प्रमख डा कडारियाका अनुसार दोस्रोमा चिनियाँ १२ हजार ५३९ र तेस्रोमा अमेरिकाका ९ हजार ८८४ पर्यटक यस क्षेत्रमा आएका हुन् । गत आवमा १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका आयोजना कार्यालयको तथ्याङ्कले देखाएको छ । तीमध्ये दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ रहेका छन् ।
“गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै ३०० प्रतिशतले वृद्धि भयो”, प्रमुख डा कडारियाले भने, “भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएका यो पहिलोपटक हो”, भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका उनको भनाइ छ । उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।
वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । मनसुन भित्रनुपूर्वको याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको कडारियाले बताए । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गर्दछन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले केही समय पोखरामा बिताउने गरेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ ।
अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको आयोजना प्रमख डा कडारियाले जानकारी दिए । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्य स्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । रासस
म्याग्दी, ३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ।
विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो। मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो।
प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको थियो।
आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा १५ दिनअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए। इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले लिएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए।
तीन दशमलव पाँचदेखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ। फराकिलो पारेपछि करिब ५०० मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण गरिएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए।
‘यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो’, उनले भने, ‘प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कनको चरणमा रहेको छ।’
यसअघिको वर्षमा थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्डमा स्तरोन्नति भएको थियो। यो सडक मालिका गाउँपालिका–४, २, र ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन्।
यो मालिका गाउँपालिकाको चालु आवको प्राथमिकताप्राप्त आयोजना भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए। रासस
झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार।
एबिसी पदमार्गमा मोबाइल चार्जिङ, इन्टरनेट र तातोपानी सेवा सहज।
स्थानीय होटल व्यवसायी र पदयात्रीलाई प्रत्यक्ष लाभ।
दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेर आयोजना सम्पन्न।
आगामी वर्ष हिमालय क्षेत्रसम्म विद्युत् विस्तार गर्ने योजना।
चालु आवको जेठसम्म अन्नपूर्ण क्षेत्रमा ४ लाख ४१ हजारभन्दा बढी विदेशी पर्यटक आगमन।
भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको तथ्याङ्क।
पूर्वाधार सुधारसँगै अन्नपूर्ण क्षेत्रको पर्यटन थप आकर्षक बन्ने अपेक्षा।
कास्की, ३ असार । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो।
कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो। यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।
यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन्। अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका जगदीश गुरुङले भने, ‘यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो। अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ।’ उनका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६०\७० होटल सञ्चालनमा आइसकेका छन्।
अन्नपूर्ण ११ छोम्रोङका होटल व्यवसायी मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गरे। राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा थप सहज हुने जनाइएको छ। । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ।
नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ। उनले भने, ‘घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन। अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन्।’
यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो। पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो। बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो।
दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो। विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
‘पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो। राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्’, इन्जिनियर रम्तेलले भने। प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ। सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ।
स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। ‘पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ’, गुरुङले भने।
विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ। यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन्।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन्। चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताए।
‘गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो’, उनले भने, ‘भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो।’ भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवद्र्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उनले बताए। यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन्।
आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन्। जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन्। गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो। यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ। झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ। पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ।
अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ। रासस
२५ वर्षमा २६ लाखभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा
सन् २०२५ मा सबैभन्दा धेरै करिब ३ लाख पर्यटक
कोभिड–१९ र भूकम्पका बेला पर्यटक आगमन घटेको तथ्याङ्क
सन् २०२२ पछि पुनः तीव्र वृद्धि
अन्नपूर्ण चक्रीय पदमार्ग विश्वप्रसिद्ध गन्तव्य
प्राकृतिक सौन्दर्य र संस्कृति पर्यटक आकर्षणका मुख्य कारण
कास्की, २६ माघ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी दुई लाख ९९ हजार ८ सय ३१ पर्यटक भित्रिएका छन् ।
यो अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १ सय ५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’ को आँकडाले देखाएको छ । कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।
त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९ सय ३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७ सय २३, सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गएको वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।
गएको वर्ष आएका पर्यटकमध्ये दक्षिण एशियाली मुलुकका एक लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका एक लाख २२ हजार २ सय ३ रहेका ‘एक्याप’ का प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उहाँले बताउनुभयो । ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्’, उहाँले भन्नुभयो ।
अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ ।
आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस
मुस्ताङ, १७ पुष । मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४ सय ३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
सन् २०२५ मा समग्रमा अघिल्लो वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन बढेको हो । जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म कूल एक लाख ६१ हजार १ सय २२ जना बाह्य पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७ सय १९ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए । गएको वर्ष त्यहाँ जाने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८ सय ४७ र अन्य देशबाट २८ हजार २ सय ७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५ सय ४९ र अन्य देशबाट २६ हजार १ सय ७० जना बाह्य पर्यटक यहाँ आएको तथ्याङ्क छ ।
एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २ सय ९८ र अन्य देशबाट दुई हजार १ सय ५ जना विदेशी पर्यटकको सङ्ख्या बढेको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य देशतर्फ ७ दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या बढेको हो ।
हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको बाह्य पर्यटकको सङ्ख्या बढ्न नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ ।
सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो ।
युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६ सय ३८, अक्टोबरमा ८ सय ५४ र नोभेम्बरमा ७० जना बाह्य पर्यटक घटेका जनाइएको छ । रासस
औषधीय जडीबुटीको केन्द्र मनाङमा निकासी बढ्दै
२०८१/८२ मा रु ३५.९१ लाख राजश्व संकलन
यार्सागुम्बा निकासी प्रमुख स्रोत
निकासीको लागि हजारौँलाई अनुमति
राजश्वमा वर्षेनी वृद्धि
केही जडीबुटीको निकासी घटे पनि मूल्य बढेको
उच्च मूल्यका जडीबुटी निकासी प्राथमिकतामा
मनाङ, ८ साउन । हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८१र८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु ३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ ।
इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए ।उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु ३४ लाख ८५ हजार ९० राजश्व सङ्कलन भएको छ ।
वन लसुन तीन हजार १८६ दशमलव ३०० किलोग्राम निकासीबापत रु ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु नौ हजार १०० राजश्व सङ्कलन भएको भुजेलले बताए । उनले भने, “गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ सङ्कलन भएको पाइएन, तर पनि राजश्व बढेको छ ।”
यार्सागुम्बा टिप्न जिल्लाका ४८८ र बाह्य एक हजार ३६ र वन लसुनका लागि २१४ स्थानीय र ७१५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए ।आव २०८०र८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो ।
जिम्बु ९३३ किलोग्राम निकासी गर्दा रु १० हजार २८०, वन लसुन दुई हजार २०५ किलोग्राम निकासी गरी रु ६६ हजार १५०, यार्सागुम्बा ७२ दशमलव ५४२ किलोग्राम निकासी गर्दा रु २२ लाख ४८ हजार ९०२ र गुची च्याउ चार किलोग्राम निकासी गर्दा रु दुई हजार गरी रु २३ लाख २७ हजार ३३२ राजश्व सङ्कलन गरिएको थियो ।
यस्तै, आव २०७९र८० मा औषधीय जडीबुटी निकासीबापत रु २६ लाख २२ हजार ६६९ राजश्व सङ्कलन गरिएको थियो । जिम्बु ११०८ दशमलव १०० केजी निकासीबापत रु ११ हजार ८१, वन लसुन १५६६ दशमलव २०० केजी निकासीबापत रु ४६ हजार ९९६, निगालो तीन हजार ३५० प्रतिगोटा निकासीबापत रु तीन हजार ३५०, यार्सागुम्बा ८२ दशमलव २०० केजी निकासीबापत रु २५ लाख ४८ हजार २००, साधारण च्याउ ३३९ केजी रु तीन हजार ३९० र टिम्बर २२ दशमलव ९८ क्युफिट निकासीबापत रु नौ हजार ६५२ राजश्व सङ्कलन भएको थियो ।
गत वर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलले बताए । “कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन । यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ”, उनले भने। रासस