भर्खरै : Sorry, your browser does not support inline SVG.

वाशिङ्टन, १५ जेठ । अमेरिका र चीनबीचको कूटनीतिक तनाव अझ चुलिँदै गएको छ। पछिल्लो घटनाक्रममा, अमेरिकाले आफ्ना विश्वविद्यालयहरूमा अध्ययनरत चिनियाँ तथा हङकङका विद्यार्थीहरूमाथि भिसा रद्द गर्ने तयारी थालेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि चीन र हङकङबाट आएका विद्यार्थीहरूको पृष्ठभूमि गहन रूपमा जाँच गरिँदैछ। रुबियोका अनुसार, अध्ययनको नाममा अमेरिकामा प्रवेश पाएका केही विद्यार्थीहरूको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भएको शंका गरिएको छ।

“अब विद्यार्थी भिसाको शर्तहरूमा पनि संशोधन गरिनेछ,” उनले स्पष्ट पारे। “हामी विदेशी विद्यार्थीका भिसा आवेदनलाई अझ कठोर प्रक्रियाबाट परीक्षण गर्नेछौं।”

केही दिन अघि मात्रै अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा आवेदन स्थगित गरिसकेको थियो। त्यसपछिका प्रतिक्रियाहरूमा चीनमाथि अझ कडा रेखा कोरिएको देखिएको छ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका–चीन सम्बन्धमा आएको तिक्तता अझ गहिरिँदै गएको छ। व्यापारिक युद्ध, कर वृद्धिको प्रतिस्पर्धा र प्रविधिमा नियन्त्रणजस्ता विषयहरूले दुई देशबीचको दूरी बढाएको छ।

यस निर्णयले हजारौं चिनियाँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ। साथै, अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा पनि यसले ठूलो तरंग ल्याउने अनुमान गरिएको छ।