भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडाैं, ३० जेठ । रसुवाको लाङटाङ हिमशृंखलाको फेदीमा अवस्थित क्यान्जिन गोम्पा डीडीसी चिज कारखाना केवल दुग्ध उद्योग मात्र नभई हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र नेपालको मौलिक स्वादको महत्वपूर्ण हिस्सा हो ।

समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको यो कारखाना याक तथा चौँरीको दूधबाट बन्ने चिजका कारण देश–विदेशमा परिचित छ । सन् १९५० को दशकमा स्विस प्राविधिक सहयोगबाट सुरु भएको यो केन्द्र नेपालमा व्यावसायिक याक चिज उत्पादनको प्रारम्भिक केन्द्रमध्ये एक मानिन्छ ।

दशकौँदेखि यसले स्थानीय पशुपालकको आम्दानीको स्रोत बन्नुका साथै लाङटाङ पुग्ने हजारौँ पर्यटकलाई हिमाली स्वादको अनुभव दिलाउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा कृषक पलायन, चरन क्षेत्रको अभाव र जलवायु परिवर्तनका कारण चिज उत्पादन उल्लेख्य रूपमा घटेको छ ।

कारखानाका चिज मेकर ग्याल्बो तामाङका अनुसार पहिले दैनिक करिब ५०० लिटर दूध संकलन हुने गरेकामा अहिले ६०–७० लिटरमा सीमित भएको छ । चौँरीपालक किसानहरू अझै पनि ५ हजार मिटरभन्दा माथिसम्म चरनका लागि पुग्ने भए पनि मौसमको अनिश्चितता र चरन क्षेत्र खुम्चिँदा दूध उत्पादनमा ठूलो असर परेको छ ।

संकलित दूधबाट चिज तयार हुन कम्तीमा तीन महिना लाग्ने र लामो समय राख्दा स्वाद अझ राम्रो हुने उनी बताउँछन् । क्यान्जिन चिज कारखानामा उत्पादित चिज पर्यटकहरूबीच निकै लोकप्रिय छ । पर्यटकहरू यसको स्वादसँगै उत्पादन प्रक्रिया र इतिहास बुझ्न पनि रुचाउने गरेको कर्मचारीहरूले बताएका छन् ।

हालै सामाजिक सञ्जालमा उच्च पदस्थ व्यक्तिको फोटो सार्वजनिक भएपछि याक चिज पुनः चर्चामा आएको र माग बढेको जनाइएको छ । रसुवामा क्यान्जिनसहित धुन्चे, चन्दनबारी, गत्लाङ र तातोपानी गरी पाँच स्थानमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन हुँदै आएको छ ।

तर उत्पादन घट्दै जानु र पशुपालक संख्या कम हुँदै जानुले यस उद्योगको भविष्यप्रति चिन्ता बढाएको छ । स्थानीयवासीका अनुसार यो उद्योग केवल उत्पादन केन्द्र होइन, जीवनयापनको आधार पनि हो । तर समस्या समाधान नभए हिमालको यो मौलिक स्वाद इतिहासमा सीमित हुन सक्ने चेतावनी दिइएको छ ।

मुख्य बुँदा 

सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमालको आरोहण सम्पन्न

कुल १,१९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए

सगरमाथा आरोहणका लागि मात्र ४९५ आरोहीले अनुमति प्राप्त गरेका थिए

५६ देशका आरोही सगरमाथा तथा अन्य हिमालमा सहभागी भएका थिए

चीन, अमेरिका र भारतका आरोहीहरूको संख्या सबैभन्दा बढी रहेको

कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका छन्

लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला तर्फ आफ्नै कीर्तिमान तोडेकी छन्

यस सिजनमा सरकारले करिब १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ

काठमाडौँ, २७ जेठ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले अनुमति दिँदै आएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ रहेका छन् । विभिन्न देशबाट नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यो वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएको जानकारी दिए । जसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथामा मात्र आरोहणका लागि ४९५ आरोहीले अनुमति लिएका थिए ।

सगरमाथा आरोहणको अनुमति लिनेमा ५६ देशका आरोही रहेका छन् । जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइड गरी झण्डै एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चिनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्टेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्याण्डका ११ आरोही पुगेका छन् ।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका हुन् ।

महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पा ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो रेकर्ड आफैँ तोडेका हुन् ।

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न दिएको अनुमतिबाट रु एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको छ ।

लोत्से हिमालबाट रु छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आमा दब्लमबाट रु एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट रु एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएवापत सरकारले रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ । रासस

मुख्य बुँदा 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान अझै सुरु भएन

हिमालय एयरलाइन्सको पोखरा–ल्हासा उडान बन्द

पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान

पर्यटन व्यवसायी र निजी क्षेत्र सरकारसँग कूटनीतिक पहलको मागमा

अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल र पर्यटन क्षेत्रमा लगानी प्रभावित

गण्डकी, ७ जेठ । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

“यात्रु सङ्ख्या न्यून भएको भन्दै हिमालय एयरलाइन्सले एक वर्षमै पोखरा–ल्हासा उडान सेवा बन्द गरेको छ”, उनले भने, “छिटपुट रूपमा चार्टर उडानबाहेक अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।”

मङ्गलबार पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान भएको महाप्रबन्धक निरौलाले बताउनुभयो । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी पर्नुभएका भारतको मध्यप्रदेश, भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर उडानमार्फत भारत पठाइएको उनको भनाइ छ । उनका अनुसार श्री एयरलाइन्सको जहाजले मङ्गलबार दिउँसो ३ः९ मिनेटमा भोपालका लागि उडान भरेको थियो ।

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवं मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीका परिवारको समन्वयमा श्री एयरलाइन्सले उक्त मेडिकल चार्टर उडान गरेको महाप्रबन्धक निरौलाले बताउनुभयो । “पहिलोपटक पोखरादेखि भारतका लागि चार्टर उडान भएको हो, यसले पोखरादेखि भारतका विभिन्न सहरमा नियमित उडानका लागि अनुमति लिन र आवश्यक कूटनीतिक पहल थाल्न नेपाल सरकारलाई सहज हुने देखिन्छ”, उहाँले भन्नुभयो ।

भारत सरकारले अनुमति दिएमा नेपाली एयरलाइन्स कम्पनीहरूले भारतका विभिन्न गन्तव्यमा उडान भर्न सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । पोखरादेखि चीन, भुटानलगायत देशमा यसअघि चार्टर उडान भए पनि भारतमा पहिलोपटक चार्टर उडान भएको हो ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकार र सम्बद्ध निकायले प्रयास गर्दै आए पनि त्यसले सार्थक रूप लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरादेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सङ्घ सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताए । “निजी क्षेत्र, स्थानीय तह, प्रदेश सरकारलगायतले यो विषय उठाउँदै आएका छन्”, उनले भने, “परराष्ट्र मामिलासँग जोडिएको र कूटनीतिक विषय भएकाले सङ्घ सरकारले नै यसमा निर्णायक पहल लिनु आवश्यक छ ।” भारतसँगको सीधा हवाई मार्गमा पोखरालाई जोड्न सके पोखरासहित सिङ्गो मुलुकले पर्यटन र व्यापारबाट फाइदा लिनसक्ने उनको भनाइ छ ।

अध्यक्ष कार्कीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले ठुलो मेहनत र सङ्घर्ष गर्नुपरेको सुनाउनुभयो । पोखरादेखि हुने आन्तरिक उडान भने धेरै सहज हुँदै गएको उनको भनाइ छ । “पहिले पोखराबाट दिउँसो ३ः०० बजेपछि उडान हुँदैनथ्यो, अहिले रात्रिकालीन उडान पनि भइरहेको छ”, अध्यक्ष कार्कीले भने, “नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेमा देशले ठुलो लाभ पाउँथ्यो, अर्बौँ खर्चेर बनाइएको विमानस्थल घाटामा चलाउनुपर्ने अवस्थाको अन्त्य हुनेथ्यो ।”

पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठुलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झन्डै एक खर्ब रुपैयाँ लगानी थपिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न पर्यटन व्यवसायीलगायतले पटक–पटक सङ्घ सरकारसमक्ष आग्रह गरे पनि हालसम्म कुनै परिणाम निस्कन नसकेको उनको भनाइ छ । सङ्घ सरकारले कूटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने पूर्वअध्यक्ष श्रेष्ठले बताए । “विमानस्थल उद्घाटन भएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु विडम्बना हो”, उनले भने, “पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन सक्दैन ।”

सरकारले शीघ्र कूटनीतिक पहल सुरु गरेर नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब रु छ खर्बको लगानी रहेको अनुमान छ । पछिल्लो समय पनि तारे होटल धमाधम बनिरहेका छन् । विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी पनि चिन्तित छन् । सरकारले जतिसक्दो चाँडो पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने उनीहरूको माग छ ।

व्यवसायीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने कतिपयको भनाइ छ । पोखरा र सिङ्गो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठुलो फड्को मार्ने देखिन्छ ।

स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । सरकारले आगामी आव २०८३ र ०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको छ । हवाई पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

मुख्य बुँदा 

सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममार्फत घोषणा गरेका हुन्

आगामी आर्थिक वर्षदेखि पूर्वतयारीका काम सुरु गरिने

नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गरिने

पर्यटन क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाइने

अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड लागू गरिने

पर्यटक भिसा प्रणाली पूर्णरूपमा अनलाइन बनाइने

पर्यटन प्रवर्द्धनमार्फत विदेशी पर्यटक आकर्षित गर्ने सरकारको लक्ष्य

काठमाडौँ, २७ वैशाख । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि त्यसका लागि आवश्यक पूर्वतयारीका काम अघि बढाइने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘भिजिट नेपाल २०८५’ आयोजना गर्ने घोषणा गर्नुभएको हो । सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन, विदेशी पर्यटक आगमन वृद्धि तथा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

नीति तथा कार्यक्रममा पर्यटनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार र सेवा क्षेत्रमा सुधारलाई प्राथमिकतामा राखिएको छ । सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति लिएको छ ।

साथै, पर्यटकलाई सहज सेवा उपलब्ध गराउन पर्यटक भिसा प्रणाली पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गरिने उल्लेख गरिएको छ ।पर्यटन क्षेत्रलाई आर्थिक विकास, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको छ ।

‘भिजिट नेपाल २०८५’ अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक तयारी गरिने सरकारको भनाइ छ ।

म्याग्दी, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीय स्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो ।

बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने ब्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको बिशेषता र महत्व स्थानीय स्तरमै सीमित भएकाले ओझेलमा परेको धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

“बगर र आसपासका गाउँका बासिन्दाले प्राकृतिक उपचारका लागि प्रयोग गर्ने तातोपानी कुण्डलाई ब्यवस्थित गर्ने प्रयासमा छौ,” उनले भने “बर्षौअघिदेखि हालसम्म सामान्य हिसाबले सञ्चालन हुदै आएको तातोपानीलाई प्राकृतिक उपचार स्थलको रुपमा विकास गर्न ब्यवस्थापन, पूर्वाधार निर्माण र प्रर्वद्धनको काम अघि बढाएका हौ ।”

बगरमा निर्माण शुरु भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुटै स्नान गर्न मिल्ने गरि पोखरी, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणको तयारी गरेको वडा सदस्य तिलिजाले बताए ।

पूर्वाधार निर्माणका लागि जग्गा ब्यवस्थापन भइसकेको छ । हाल ढुङ्गाले छाएको टहराभित्र रहेको पोखरीमा शरिर डुबाएर स्नान गर्ने ब्यवस्था रहेको छ । बगर देखि दोभान जोड्ने सडक देखि तातोपानी कुण्ड जाने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ ।

यस तातोपानीको तलाउमा स्नान गरेमा चोट पटक लागेको, दाड दुख्ने, छाला, गानोगोला, सर्केमर्केको, ग्यास्ट्रिक लगायतका स्वास्थ्य समस्या निको हुने धवलागिरी गाउँपालिका–४ खिवाङका अमर रसाइलीले बताए ।“ढाड दुख्ने समस्या निको हुने भएकाले हरेक बर्ष १०  देखि १५ दिनसम्म तातोपानी डुब्न आउने गरेको छु,” उनले भने “तातोपानीमा दैनिक दुई÷दुई घण्टाका दरले शरिर डुबाएर पानी थेरापी गरेपछि चिसो लाग्दैन, चोटपटक लागेको, खाना अरुची हुने समस्या पनि निको हुने अनुभव छ ।”

हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम, मुनाका बासिन्दाहरु यहाँको तातोपानी कुण्डमा शरिर डुबाएर स्नान गरि उपचारका लागि आउने गरेका छन् । वार्षिक दुई सय देखि तीन सय जनाले तातोपानी स्नान गर्न आउने गरेका छन् । बगर गाउँदेखि १० मिनेट पैदलयात्रा गरेपछि पुगिने तातोपानी कुण्ड नजिकैसम्म हालै सडक यातायातको सुविधा पनि पुगेको छ ।

यस तातोपानी कुण्ड र सँगै रहेको अर्मके झरनालाई ब्यवस्थित गर्न सकेमा प्राकृतिक उपचार स्थल र पर्यटकीय गन्तब्यका रुपमा विकास हुने सम्भावना रहेको छ । तातोपानी कुण्ड र अर्मके झरना चक्रीय धौलागिरि पदमार्गमा समेटिएको छ । रासस

काठमाण्डौ, ९ फागुन । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ ।

अध्यागमन विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपाली मूलका नागरिक तथा एनआरएनएलाई सहजीकरण गर्न र नेपालप्रतिको आत्मियता मजबुत बनाउन यो व्यवस्था गर्न लागिएको हो ।

यसले नेपाली भाषा, संस्कृति प्रवर्द्धन गर्नुका साथै पर्यटन तथा लगानी प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । विभागले त्रिभुवन विमानस्थल कार्यालयलाई आवश्यक तयारी गरी अलग्गै डेस्क स्थापना गर्न पत्राचार गरिसकेको जनाएको छ ।

काठमाण्डौ, ८ फागुन । इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपालसम्म आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसको प्रभाव नेपाली भान्सादेखि अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिन थालेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हालसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका कारण निगमलाई १५ दिनमै करिब ४ अर्ब रुपैयाँ घाटा हुने अवस्था सिर्जना भएको छ । उपभोक्ताले पेट्रोलमा लिटरमै १५ रुपैयाँसम्मको मूल्यवृद्धि भोगिसकेका छन् ।

अर्थविज्ञहरूका अनुसार इन्धनको मूल्य बढ्नेबित्तिकै यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक असर पर्छ । साथै, नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्समा पनि दबाब पर्ने जोखिम देखिएको छ । मध्यपूर्वका देशहरूले नेपालको कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत हिस्सा ओगटेका छन् ।

गत आर्थिक वर्षमा मात्रै करिब साढे ६ लाख नेपाली श्रमिक मध्यपूर्व पुगेका थिए । तर, हाल संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता देशहरूमा कतिपय नेपाली कामदारलाई बेतलबी बिदामा राख्न थालिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।पर्यटन क्षेत्रमा पनि प्रभाव देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मध्यपूर्व हुँदै नेपाल आउने उडानहरू आधाभन्दा कममा झरेका छन् ।

यसबाहेक रासायनिक मलको अभावले आउँदो धान र मकै खेतीको मौसममा कृषि उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको करिब एकचौथाइ योगदान रहने गरेको छ । अर्थविद्हरूले इन्धनको खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्न र सार्वजनिक यातायातको प्रयोग बढाउन सुझाव दिएका छन् ।

काठमाडौँ, ३ माघ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त गन्तव्य बनेको छ। भीडभाड र कोलाहलबाट टाढा, हिमाल, जंगल, खोल्सा र सांस्कृतिक बस्तीको संयोजनले यो पदमार्गलाई विशेष बनाएको छ।

मकालु हिमाल मकालु–बरूण राष्ट्रिय निकुञ्जभित्र पर्दछ। सरकारले २०४९ सालमा स्थापना गरेको यो निकुञ्जको क्षेत्रफल करिब १,५०० वर्ग किलोमिटर छ। निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म फैलिएको छ। यसको पश्चिमतर्फ सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरतर्फ तिब्बतको चोमोलोङ्मा संरक्षण क्षेत्र पर्दछ।

यस पदमार्गमा जाने पर्यटकहरू प्रायः तुम्लिङटार वा खाँदबारीबाट यात्रा सुरु गर्छन्। करिब ८ दिनको पदयात्रापछि मकालु बेसक्याम्प पुगिन्छ भने फर्किन करिब ३ दिन लाग्दछ। यात्राका क्रममा सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्ला खर्क र लाङ्माले हुँदै मकालु बेसक्याम्प पुगिन्छ।

भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको यस क्षेत्रमा २,१०० मिटर उचाइमा रहेको टासीगाउँ शेर्पा समुदायको मुख्य बस्ती हो। यस गाउँभन्दा माथि स्थायी बस्ती छैन, तर पदयात्रीहरूका लागि ठाउँ–ठाउँमा होटल तथा बास बस्ने सुविधा उपलब्ध छन्।

टासीगाउँमा प्रायः घरघरमै हिमाल आरोहण तथा पदयात्राका लागि व्यावसायिक गाइड भेटिन्छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्यचौकीको सुविधा छ भने भरिया पनि सजिलै पाइन्छन्। गाउँका अधिकांश युवक पर्यटन व्यवसायमै संलग्न छन्।

टासीगाउँबाट करिब ७ घन्टा उकालो चढेपछि ३,६६० मिटर उचाइमा रहेको खोङ्मा डाँडा पुगिन्छ, जहाँ दुईवटा घर मात्र छन्। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण हिमशृंखला र मकालु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। त्यहाँ बास बसेपछि भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी हुँदै ४,२५० मिटर उचाइमा रहेको सिप्तन्ला भन्ज्याङ पार गरेर ३,८६० मिटर उचाइको दोबाटे पुगिन्छ।

दोबाटेबाट बरुण नदीको बगर हुँदै छैटौँ क्याम्प याङ्ला खर्क पुगिन्छ। याङ्ला खर्कबाट करिब ४ घन्टाको यात्रापछि ४,५०० मिटर उचाइको लाङ्माले क्याम्प पुगिन्छ। त्यहाँ एक दिन बास बसेपछि ४ घण्टाको यात्रामा ५,९०० मिटर उचाइमा रहेको मकालु बेसक्याम्प पुगिन्छ। यहाँ स्थायी बस्तीका नाममा तीनवटा घर मात्र भएकाले अधिकांश पर्यटक टेन्टमै बस्छन्।

यस पदमार्गमा शिवधारा, ताडोसा (४,००० मिटर), हामाफोजुङ (आमाछोरा पहाड) जस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थान पनि पर्दछन्। यहाँ डाँफे, हिमाली काग, भ्याकुरा, मुनाल, कालिज, रेडपान्डा, विभिन्न प्रजातिका पुतली तथा जंगलमा रंगीचंगी फूल अवलोकन गर्न सकिन्छ।

विदेशी पर्यटकका लागि यो पदमार्ग करिब आधा दशकदेखि मात्र खुलेको हो। निकुञ्ज कार्यालयका अनुसार प्रत्येक वर्ष यहाँ आउने विदेशी पर्यटकको संख्या बढ्दो छ। गत वर्ष मात्रै १ हजार ४१४ जनाले मकालु पदमार्गको सफल पदयात्रा गरेका थिए।

प्राकृतिक शान्ति, हिमाली दृश्य, सांस्कृतिक बस्ती र साहसिक यात्राको संयोजन खोज्नेका लागि मकालु पदमार्ग नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।