भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, ३३ बचेरा उड्न सफल

अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, ३३ बचेरा उड्न सफल

अर्घाखाँची, १३ असार । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्।

गिद्धविज्ञ कृष्ण भुसालका अनुसार यस वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रहेका गुँडबाट ३३ वटा बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्।

छत्रदेव गाउँपालिकाको वन क्षेत्रमा विश्वमै अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएकामा १५ वटा गुँडबाट बचेरा सफलतापूर्वक उडेका छन्।

यस्तै, मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्।

भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख–जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ।

यसैबीच, विश्वमै दुर्लभ सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा गुँड बनाएर अहिले बचेरा हुर्काइरहेको छ।

यस प्रजातिको प्रजनन अन्य गिद्धको तुलनामा केही ढिलो हुने भएकाले अझै बचेरा हुर्काउने क्रम जारी रहेको जनाइएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काका अनुसार उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता र स्थानीय समुदायको सक्रिय सहभागिताले गिद्ध संरक्षणमा उल्लेखनीय सफलता मिलेको हो।

 


Thali Mobile Pvt.Ltd.