भक्तपुर, २० पुस । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारको निजामति सेवामा प्रवेश गरेका नवप्रवेशी शाखा अधिकृतहरुको ६ महिना अवधिको ‘आधारभूत प्रशासन प्रशिक्षण’ अन्तर्गत प्रशिक्षार्थी अधिकृतहरुको टोलीले आज भक्तपुर नगरपालिकाका पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गरेको छ।

भ्रमणको क्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थी अधिकृतहरुलाई मार्गनिर्देशन गर्दै, भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक संस्थाहरु सञ्चालन गरेको कारण नगर आज ज्ञान–विज्ञानको केन्द्रको रूपमा विकास भएको बताए। उहाँले नपाबाट सञ्चालित कलेजहरूमा देशका ७७ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेको र २०५६ सालमा स्थापना भएको ख्वप माविबाट हाल ख्वप विश्वविद्यालय संचालनमा पुगेको जानकारी दिनुभयो।

साथै, नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधीहरुले “एक घर एक स्नातक” लक्ष्य अनुरूप शैक्षिक संस्थाहरु सञ्चालन गर्दै नगरका साथै देशभरिका युवाहरुले उच्च शिक्षा प्राप्त गर्न विदेश नजानु परेको उल्लेख गर्नुभयो। नगरपालिका सञ्चालन गरेको शैक्षिक संस्था र अस्पताल मार्फत सम्पूर्ण जनताहरुको सेवा भइरहेको र पार्टीको उद्देश्य पनि देश र जनताको निस्वार्थ सेवा गर्नु रहेको स्पष्ट पार्नुभयो।

उहाँले रुसले समाजवादी व्यवस्था स्थापना पछि २० वर्षमा विश्वकै दोस्रो अर्थतन्त्र बन्न सफल भएको जानकारी दिँदै, नेपालमा २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था प्राप्त भए पनि ३५ वर्षमा ठूला पार्टीहरूले देशलाई २८ खर्ब ऋणको भारमा पुर्याएको जिकिर गर्नुभयो। विदेशी ऋण र सहयोग मार्फत देश उपनिवेश हुने खतरा हुनेबारे सचेत रहन आग्रह गर्नुभयो।

भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेको सम्पदा संरक्षणमा विदेशी सहयोगमा निर्भर नभई स्थानीय जनसहभागिता र श्रमदानमार्फत सफल भएको र यसले पर्यटन विकासमा समेत योगदान गरेको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। नगरपालिकाका उपप्रमुख रजनी जोशीले २०७२ सालको भूकम्पमा क्षति पुगेको सम्पदालाई ९० प्रतिशत पुनःनिर्माण पारदर्शी ढंगले सम्पन्न गरिएको जानकारी दिनुभयो र प्रशिक्षार्थीहरुलाई नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभयो।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेस प्रताप मल्लले विशेषज्ञ सेवा न्यून शुल्कमा उपलब्ध गराउँदै निःशुल्क अक्सिजन वितरणसमेत भइरहेको जानकारी दिनुभयो। अवलोकन भ्रमणको सहजीकरण भक्तपुर पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले गर्नुभयो।

उहाँले पर्यटक सेवा शुल्क संकलन गरी कला संस्कृति, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र सरसफाईमा खर्च भइरहेको जानकारी दिनुभयो। भ्रमणमा पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद खत्री र मुरजदिदियाले सम्पदा अवलोकनमा मार्गनिर्देशन गरेका थिए। भ्रमणमा प्रतिष्ठानका अधिकृत, नेपाल प्रहरीका प्रशिक्षक र प्रशिक्षकसहित करिब १२० जनाको उपस्थिति रहेको थियो।

एजेन्सी, कायरो । इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख विदेशी पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो ।

पर्यटन तथा पुरातत्त्व मन्त्री सरिफ फाथीका अनुसार मुलुकमा सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति, पर्यटन उत्पादनको विविधीकरण तथा सेवाको गुणस्तर सुधारका कारण पर्यटक आगमन उल्लेख्य रूपमा बढेको हो ।

उनले कायरो, हुरघाडा, शर्म अल–शेख र मार्सा आलम इजिप्टका सबैभन्दा व्यस्त विमानस्थलहरू रहेको जानकारी दिँदै यसले देशभर पर्यटन आकर्षणको भौगोलिक विस्तार झल्काएको बताए । सन् २०२५ मा विश्वका १९३ सहरहरूबाट इजिप्टमा प्रत्यक्ष पर्यटक उडान सञ्चालन भएको पनि उनले बताए ।

यस अवधिमा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी न्यू अलामेन सिटी चार्टर उडानमार्फत पर्यटक आगमनमा ४५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिँदै तीव्र गतिमा उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

पर्यटन इजिप्टका लागि रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातसँगै वैदेशिक मुद्राको प्रमुख स्रोत रहँदै आएको छ । सन् २०२४ मा इजिप्टले १ करोड ५७ लाख पर्यटकबाट १५.३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।

गुल्मी, १९ पुस । थप ३० नयाँ प्रजातिका चरा अभिलेखमा आएसँगै गुल्मी जिल्लामा हालसम्म पाइने चरा प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले हालै गरेको चरा गणनाका क्रममा यी नयाँ प्रजातिहरू फेला परेका हुन् ।

नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो चरा सर्वेक्षणमा नयाँ प्रजातिहरू पहिचान गरिएको हो । यस सर्वेक्षणमा रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रबाट मात्र २५ नयाँ प्रजातिका चरा अभिलेख गरिएको उनले जानकारी दिए । यसअघि रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण हुँदै आएकोमा यसपटक पहिलो पटक थाप्ले सत्यवती वन संरक्षण क्षेत्र लाई पनि समेटेर अध्ययन गरिएको हो । नयाँ फेला परेका चरा प्रजातिहरूमा तिलहरी, मोटो ठुँडे पुष्पकोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख र सिम कुखुरालगायत रहेका छन् ।

गुल्मी जिल्लामा विश्वमै दुर्लभ मानिने छ प्रजातिका चरा पनि पाइने गरेका छन् । तीमध्ये रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो महाचिल भेटिने नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । काँडे भ्याकुर भने रेसुङ्गा, मदाने र थाप्ले सत्यवती तीनै वन क्षेत्रमा अभिलेख गरिएको छ । नेपालमा पाइने कुल ९०३ प्रजातिका चरा मध्ये करिब ४० प्रतिशत चरा गुल्मीमा फेला परेको सङ्घको तथ्याङ्कले देखाएको छ । विभिन्न चरणमा गरिएको सर्वेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६, मदाने वन संरक्षण क्षेत्रमा २८९ र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा अभिलेख भएका छन् ।

तीनवटै वन संरक्षण क्षेत्र समेटेर गरिएको पछिल्लो सर्वेक्षणपछि जिल्लामा जम्मा ३५५ प्रजातिका चरा को तथ्याङ्क अभिलेख गरिएको हो । सङ्घले वन क्षेत्र आसपासका स्थानीय समुदायलाई वन संरक्षणसँगै जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीमा चरा पर्यटन (बर्ड टुरिजम) को ठूलो सम्भावना रहेको बताएका छन् ।

 

मुस्ताङ, १७ पुष । मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४ सय ३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

सन् २०२५ मा समग्रमा अघिल्लो वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन बढेको हो । जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म कूल एक लाख ६१ हजार १ सय २२ जना बाह्य पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७ सय १९ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए । गएको वर्ष त्यहाँ जाने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८ सय ४७ र अन्य देशबाट २८ हजार २ सय ७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५ सय ४९ र अन्य देशबाट २६ हजार १ सय ७० जना बाह्य पर्यटक यहाँ आएको तथ्याङ्क छ ।

एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २ सय ९८ र अन्य देशबाट दुई हजार १ सय ५ जना विदेशी पर्यटकको सङ्ख्या बढेको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य देशतर्फ ७ दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या बढेको हो ।

हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको बाह्य पर्यटकको सङ्ख्या बढ्न नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ ।

सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो ।

युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६ सय ३८, अक्टोबरमा ८ सय ५४ र नोभेम्बरमा ७० जना बाह्य पर्यटक घटेका जनाइएको छ । रासस

मुख्य बुँदा

बागलुङस्थित बुकीपाटनमा चिसो बढेपछि आन्तरिक पर्यटकको आगमन घटेको।

वर्खायाममा सयौँ गोठाला र हजारौँ पशुसहित गुल्जार रहने क्षेत्र अहिले सुनसान।

४,५०० मिटर उचाइमा अवस्थित बुकीपाटन पदयात्राका लागि आकर्षक गन्तव्य।

म्याग्दी, रुकुम, रोल्पा र डोल्पाका पशुपालक किसानको मुख्य चरन क्षेत्र।

सडक विस्तारपछि ढोरपाटन क्षेत्रमा पनि बसोबास र पर्यटन दुवै बढ्दो।

बागलुङ, २६ कार्तिक । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।

अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् ।

समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । वर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए ।

असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ । बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्ने हुँदा वर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन् ।

गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, ‘दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।”

नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले वर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए ।

धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामात्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकीपाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् ।

“यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले–पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ”, सुनारले भने “अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।”

चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँखेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ ।

पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र वर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन्। रासस

काठमाडौँ, १७ कार्तिक । यो वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्ड (NTB) का अनुसार, दक्षिण एसियाबाट २९ हजार ६० जना, एसियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानियाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ जना पर्यटक नेपाल आएका छन्।

अक्टोबर महिनामा मात्र भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६ र अष्ट्रेलियाबाट ६ हजार १७७ जना पर्यटक नेपाल आएका थिए।

त्यस्तै, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार, चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन्।

मुख्य बुँदा

देउराली उद्यान अहिले भोजपुरको आकर्षक स्थल बनेको छ।

युवाहरूको सक्रियता र सामूहिक प्रयासले उद्यान व्यवस्थित र सुन्दर भएको।

बिहानी फुटबल क्लबले राष्ट्रिय झण्डा, फूलका गमला र फलैँचा निर्माणमा योगदान।

उद्यानको प्रवेश भागमा भोजपुर नगरपालिकाद्वारा खुकुरीको प्रतिमा स्थापना।

उद्यानमा बिहान र साँझ दर्जनौँ आगन्तुकहरूले प्राकृतिक दृश्यको आनन्द लिन्छन्।

युवा प्रकाश किरातका अनुसार विभिन्न समाजसेवी र सङ्घसंस्थाले सहयोग गरी उद्यान अझ आकर्षक बनेको।

भोजपुर, १६ कार्तिक । देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ ।

यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिए। युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् ।

उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेको हो ।

क्लबका युवाहरूले राखेका राष्ट्रिय झण्डाको नियमित हेरचाह र फेरबदलसमेत गर्दै आएका छन्, जसले पार्कलाई सदैव स्वच्छ र आकर्षक बनाएको छ । युवाको सक्रियताबाट प्रेरित भई यहाँका अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैँचा निर्माण र सजावटमा सहयोग गरेका छन् ।

युवाहरूको यस निरन्तर प्रयासले देउराली सुन्दरसँगै भोजपुरकै गर्वको स्थल बन्ने दिशामा अघि बढेको सुरुआती अभियान सञ्चालन गरेका युवा प्रकाश किरातले बताए । युवाहरूले थालेको अभियानलाई विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोगले पूर्णता दिएको उनको भनाइ छ ।

सुन्दर प्राकृतिक दृश्यले सजिएको देउराली उद्यान अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ । बिहान र साँझको समयमा यहाँ दर्जनौँ आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन् ।रासस

मुख्य बुँदा

वर्षा र सडक अवरोधका कारण जलजला पुग्न सकेनन् पर्यटक

ढोरपाटन उपत्यकाबाट गाठेसाँघु नहालिँदा बाटो बन्द

अघिल्लो वर्ष दशैँमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

हिमशृङ्खला र सूर्योदय अवलोकनका लागि जलजला आकर्षक गन्तव्य

होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार मौसम मुख्य कारण

बागलुङ, २४ असाेज । वर्षा र सडक अवरुद्ध हुँदा यस वर्ष पर्यटकहरू जलजला पुग्न नसकेका छन्। अघिल्लो वर्ष दशैँको समयमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए, तर यसपटक उनीहरू ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किनु परेको छ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष अन्तर्गत पर्ने जलजला बागलुङ र म्याग्दी दुबै जिल्लाबाट जोडिएको छ।नजिकैबाट दर्जनौँ हिमशृङ्खला र सूर्योदय अवलोकन गर्न सकिने भएकाले जलजला पछिल्ला वर्षमा पर्यटनको नयाँ गन्तव्यका रूपमा चर्चित बन्दै गएको छ।

पाँच वर्षअघि सम्म ओझेलमा रहेको यो क्षेत्र अहिले हिउँदमा पर्यटकको मनपर्ने स्थल बनेको छ। ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको थियो।

ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको भए पनि, वर्खामा गाडी चल्न नसक्दा पर्यटकले सास्ती खेप्नुपरेको छ। ढोरपाटन उपत्यकाबाट जलजला पुग्न घना जंगल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दशैँमा पर्यटक पुग्न सकेका छैनन्।

त्यहाँ पुग्नका लागि तीन ठाउँमा गाठेसाँघु तर्नुपर्ने भए पनि वर्षाका कारण हालसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए। उनका अनुसार पछिल्ला दुई वर्षयता जलजला पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको थियो, तर यस वर्ष मौसमी बाधाका कारण आगन्तुक पुग्न नसकेको हो।