भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

बसाइँसराइले गाउँ रित्तिँदै गए पनि लोकनाथ कँडेलले सुन्तलाका कारण गाउँसँग नाता तोडेका छैनन्

किमबोट गाउँमा ३२० बोट सुन्तला, २५० बोटले नियमित उत्पादन दिँदै

२०४७ सालमा ३५ हजार रुपैयाँ लगानीबाट सुरु गरिएको सुन्तलाखेती अहिले आम्दानीको मुख्य आधार

पहिले कोदो र मकै फल्ने बारी अहिले सुन्तलाले ढपक्क

सुन्तलाखेतीबाट जीवनस्तरमा ठूलो परिवर्तन, छोराछोरीको विदेश अध्ययन सम्भव

सडक नहुँदा डोकोमा बोकेर सुन्तला बजार पुर्‍याएको अनुभव

बसाइँ सरेका अन्य किसानले पनि सुन्तलाको कारण जग्गा नबेचेको उदाहरण

१४ रोपनी क्षेत्रफलमा तीन दशकभन्दा बढी समयदेखि व्यावसायिक खेती

बागलुङ, ७ पुष । पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण गाउँहरू रित्तिँदै गएका छन्। गाउँमा रहेका धेरैजसो परिवार सुविधा र रोजगारीको खोजीमा शहर वा तराई झरिरहेका छन्।

तर, बागलुङको किमबोट गाउँका लोकनाथ कँडेल भने बसाइँ सरे पनि गाउँसँगको नाता तोडेका छैनन्। यसको मुख्य कारण बनेको छ—सुन्तलाखेती।

सुविधाको खोजीमा १३ वर्षअघि बागलुङ बजार झरेका कँडेल अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। गाउँमा रहेको आफ्नो सुन्तलाबारीको स्याहारसुसारका लागि उनी हरेक हप्ता किमबोट पुग्ने गर्छन्।

किमबोट गाउँमा उनका ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले नियमित रूपमा फल दिइरहेका छन्। कँडेलले साढे तीन दशकभन्दा अगाडिदेखि सुन्तलाखेती गर्दै आएका छन्।

विसं २०४७ सालमा ३५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको सुन्तलाखेती आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ। त्यतिबेला बागलुङ जिल्लामा सडक सञ्जालसमेत विस्तार भएको थिएन।

स्थानीय किसान कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुरु गरेको सुन्तलाखेतीबाट प्रेरित भएर लोकनाथ कँडेलले पनि यो खेती थालेका हुन्। हाल ६० वर्ष उमेर पुगेका कँडेल १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।

गाउँप्रतिको माया र सुन्तलाखेतीप्रतिको मोहकै कारण बागलुङ छोडेर टाढा बसाइँ सर्न नसकेको उनी बताउँछन्। वरपरका छिमेकी धमाधम गाउँ छोडेपछि परिवारसहित बागलुङ बजार झरे पनि आफ्नो सम्पूर्ण जग्गा जमिन र घर भने गाउँमै छाडेको उनले बताए।

“बिरामी पर्दा उपचार सहज होस् भनेर मात्रै बजार झरेको हुँ,” कँडेल भन्छन्, “सम्पत्ति सबै गाउँमै छ। अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसान म नै हुँ जस्तो लाग्छ।”

उनका अनुसार पहिले कोदो र मकै फल्ने बारीले वर्षभर खानसमेत पुग्दैनथ्यो। तर अहिले त्यही बारीमा लटरम्म सुन्तला फलेका छन्। “मकै र कोदोले जीवन धान्न गाह्रो थियो, सुन्तलाले जीवनस्तर नै परिवर्तन गरिदियो,” उनले सुनाए।

सुन्तलाखेतीबाट भएको आम्दानीले छोराछोरीको शिक्षा सम्भव भएको कँडेल बताउँछन्। हाल उनका छोराहरू जापान, अमेरिका र पोर्चुगलमा छन्। सुन्तलाखेती थालेपछि कुनै पनि जग्गा बाँझो नराखेको उनको भनाइ छ।

सडक नहुँदाको समयमा डोकोमा बोकेर सुन्तला बागलुङ बजार पुर्‍याएर बिक्री गरेको स्मरण गर्दै उनले अहिले त्यो कठिनाइ नरहेको बताए। बसाइँसराइ गरेर तराई झरेका धेरैले पनि सुन्तलाको मोहका कारण आफ्नो जग्गा जमिन नबेचेको उनी बताउँछन्।

“म बजारमा बस्छु तर मन दिनहुँ गाउँमै हुन्छ,” कँडेल भन्छन्, “अहिले सुन्तला टिप्ने बेला नजिकिँदै छ, चोर लाग्ने डर हुन्छ, त्यसैले झन् गाउँ धाउनुपर्छ।” कँडेलको सुन्तलाखेतीले बसाइँसराइले रित्तिँदै गएको गाउँमा पनि सम्भावना अझै बाँकी रहेको सन्देश दिएको छ।

मुख्य बुँदा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ९९.५ हेक्टर जग्गा चक्लाबन्दी।

२०७६/७७ आर्थिक वर्षदेखि कृषक समूह र सहकारीमार्फत व्यावसायिक खेती सुरु।

सात हेक्टरमा सुन्तला, १२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ, ११ हेक्टरमा किबी रोपाइँ।

ढोरपाटन नगरपालिका–९ नवी गाउँमा स्याउखेती विस्तार।

किसानहरू लामो समयदेखि खेती गर्दै आए पनि हाल मात्र व्यावसायिक लाभको सम्भावना बढेको।

किसानहरूमा परियोजनाले उत्साह जगाएको।

बागलुङ, २८ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९।५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ ।

परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ ।

चक्लाबन्दी भएको जमिनमध्ये रु एक करोड लगानी गरेर सात हेक्टरमा सुन्तला,१२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२।५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए । उक्त कार्यालयले ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ ।

गत आवमा दुई सय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन्। नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएको उनले बताए । रासस

दमौली, तनहुँ , १५ साउन ।  तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल व्यावसायिक रूपमा कागतीखेतीमा लागे पनि उत्पादनले बजार नपाउँदा चिन्तित छन्।

करिब २० रोपनी जमिनमा कागतीखेती गरेका मल्लले कागती उत्पादनको उच्च सिजनमा समेत बिक्री गर्न नसकेको गुनासो गरेका छन्।“बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत धेरै पर्छ, त्यसमा पनि उचित मूल्य पाउन गाह्रो छ,” मल्लले बताए। उनका अनुसार कागती बारीमै पाकेर कुहिने अवस्थामा पुगेको छ।

बजार अभावका कारण उनी आफैं काठमाडौँको कालीमाटी तरकारी बजार पुगेर व्यापारीलाई बिक्रीका लागि आग्रह गरिरहेका छन्। “गत वर्ष चितवन, दमौली र पोखरामा बिक्री भएको थियो, तर यस वर्ष ती बजारमा माग घटेपछि काठमाडौँ जानुपरेको हो,” मल्लले सुनाए।

उनी भन्छन्, “उत्पादन काठमाडौँसम्म पुर्‍याउँदा लागत धेरै पर्छ, तर कुहिन दिनु पनि नहुने। त्यसैले ३० केजीभन्दा बढी किन्न चाहनेले बारीमै आएर छानीछानी कागती टिप्न पाउने भनेको छु।” मल्लले स्थानीय तहको उदासीनता प्रति पनि गुनासो गरे। “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन। स्थानीय कृषकलाई प्रोत्साहन गर्नु स्थानीय तहको पनि दायित्व हो,” उनले भने।

उत्पादन बिक्री नहुँदा निराश बनेका मल्ललाई मौसमले समेत साथ दिएको छैन। जेठ १ र २ गते आएको हावाहुरीले उनका ५० बोट कागतीमा क्षति पुर्‍याएको छ। ५०० भन्दा बढी कागतीका बोट लगाएका मल्लले सात वर्षअघिदेखि यो व्यवसायलाई अपनाएका हुन्। “प्रत्येक वर्ष प्राकृतिक प्रकोपको मार पर्ने र कतैबाट राहतसमेत नपाउने स्थिति छ,” उनले दुःखेसो गरे।

सरकार र स्थानीय तहको बेवास्ता, बजार व्यवस्थापनको अभाव र जलवायुजन्य जोखिमबीच उनीजस्ता कृषक अझ निराश हुँदै गएका छन्। कृषक मल्ल जस्ता उदाहरणले स्पष्ट गर्छ—उत्पादनले मात्र पुग्दैन, बजार व्यवस्थापन, पूर्वाधार र नीतिगत सहायताको खाँचो छ।

स्याङ्जा, ८ साउन। स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७३–०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तला बगैँचा विस्तारले तीव्रता पाएको हो ।

परियोजना सुरु गर्ने बेलामा कूल ८८७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो । हाल सो क्षेत्रफल करिब तीन गुणाले विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिए ।

“आर्थिक वर्ष २०८०(०८१ सम्म दुई हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो”, उनले भने, “गत आवमा १०० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा विस्तार भएको छ ।” परियोजनाले समूह सहकारी, कृषि फार्महरुमा आबद्ध कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइका सामग्री, निलोतुथो, खोप, विषादीलगायत सहयोग गर्ने गरेको छ ।

स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ । “स्याङ्जाका ११ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकाबाहेक सबैमा सुन्तला सुपरजोन सञ्चालनमा छ”, उनले भने, “पुतलीबजार, भीरकोट, अर्जुनचौपारीमा तुलनात्मक रुपमा सुन्तला बगैँचाको क्षेत्रफल बढ्दो छ ।”

गत आव २०८१र०८२ मा सुन्तला बगैँचा रहेको क्षेत्रफलको ६० प्रतिशत बोटबाट उत्पादित सुन्तलाबाट रु एक अर्ब १२ करोडको आम्दानी भएको थियो ।

कूल क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा बिरुवा लगाइएको र उत्पादन नदिइसकेकाले आगामी दिनमा उत्पादन वृद्धि हुँदै जाने जनाइएको छ । यहाँ दश वर्षका लागि सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा रहने भनिएकामा यो अन्तिम वर्ष हो । रासस

बेनी, १८ असार। बेनी नगरपालिका–३ भकिम्लीमा एक दशकअघि परीक्षणका रूपमा गरिएको किवी खेती अहिले पकेट क्षेत्रको रूपमा विस्तार भएको छ । विंस २०७२ मा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौँबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रूपमा खेती गरेका थिए ।

तत्कालीन समयमा लगाएका बोटले छ वर्षपछि फल दिन थालेपछि स्थानीय किवी खेतीमा आकर्षित भएका हुन् । विंस २०७४ मा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवी खेतीको लहर चलेको थियो ।

किवी खेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवी खेती विस्तार भएको छ । भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार, भकिम्लीमा अहिले कृषकहरूले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन् ।

“किवीलाई स्थानीयले प्रमुख खेतीकै रूपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्य बालीको विकल्पमा किवी खेती विस्तार गर्ने अभियान नै चलेको छ”, वडाध्यक्ष पुनले भने ।

वडाभित्र सामूहिक र व्यक्तिगत रूपमा फर्म दर्ता गरेर किसानहरू गाउँलाई किवी गाउँको रूपमा विकास गर्ने प्रयासमा लागि परेका छन् । भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ ।

किवी खेतीको अगुवा किसानको रूपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले दुर्य सय ५० बोट किवी लगाएका छन् । गाउँका युवाहरूले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवी खेती सुरु गरेका छन् । वडामा हाल ५० भन्दा बढी किसान किवी खेतीमा छन् ।

किवी खेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । चालु आर्थिक वर्ष २०८१र८२ मा नगरपालिकाबाट विनियोजन भएको रु १२ लाख बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताए।

“विगतका वर्षमा यस क्षेत्रमा फलफूल खेती प्रवर्द्धन कार्यक्रममार्फत किवी खेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यस वर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ”, कृषि अधिकृत ढुङ्गानाले भने ।

किवी पकेट क्षेत्र कार्यक्रममार्फत यस वर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाँगिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ ।

किवी खेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन् । किवी पकेट क्षेत्र विस्तारले किसानमा किवी खेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहनुभएका किसान रत्न जिसीले बताए।

वैदेशिक रोजगारको विकल्पमा किवी खेती

बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकै खेती हुँदै आएको आठ रोपनीमा किवी खेती सुरु गरेका छन् । दुई वर्षदेखि किवी खेतीमा लागेका।मगरले १ सय १० वटा बोट किवी लगाइसकेका छन् । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए ।

“पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर कृषि कर्ममा लागेको हुँ, आफ्नै गाउँको माटोमा पसिना बगाएर स्वरोगजार बन्ने मेरो सपना छ, अझै दुई रोपनी बारीमा किवी विस्तार गर्ने योजना बनाएको छु”, उनले भने । मगरले यस वर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय दुई वटा पोल निर्माण गरेका छन् ।

किवी खेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यस वर्ष मात्रै रु छ लाख बराबरको काम गरेको उनले बताए । भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवी खेतीमा लाग्नुभएका किसान लालबहादुर घर्तीले सात रोपनीमा किवी लगाएका छन् ।

“रोजगारको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवी खेतीमा लागेको हुँ”, घर्तीले भने ।

विसं २०७५ मा वडा कार्यालयले किवी खेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरू किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् । घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ ।

गत वर्ष मात्रै रु ८० हजारको किवी बिक्री गरेका उनले १७ रोपनीमा किवी खेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए ।

पुनले तीन सय वटा किवीका बिरुवा रोपेकोमा अहिले एक सय ७० वटा बोटले फल दिन सुरु गरिसकेको छ । गत वर्ष रु तीन लाखको किवी बिक्री गरेका पुनले यस वर्ष बेनी नगरपालिकाको अनुदानमा ८४ वटा पोल र नयाँ बोटसमेत विस्तार गरेको बताए ।

उचित बजार व्यवस्थापनको चुनौती

अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवी खेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ । गाउँमा उत्पादन नभएको किवी स्थानीय बजारमा खपत हुनसक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा पठाउन थालिएको छ ।

कात्तिकदेखि पुससम्ममा किवीको बजारीकरण गरिन्छ । गत वर्ष यहाँका कृषकहरूले प्रतिकिलो रु एक सय ८० मा किवी बिक्री गरेका थिए । सुरुवातका वर्षमा प्रतिकिलो रु दुई सय ५० सम्म मूल्य पाएका किसानले उत्पादन गरेको किवीको उत्पादन बढेसँगै उचित बजारको अभाव देखिन थालेको मुसुङका किसान लालबहादुर घर्तीले बताए।

किवी पकेट क्षेत्रका रूपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताइन् ।

उनका अनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ । नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ ।

किवी समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म खेती गरिन्छ । किवीको बोटमा तीन वर्षमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रतिआठ वटा पोथी बिरुवा बराबर एक वटा भाले बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । रासस