काठमाडौँ, ८ भदाै । भारतबाट भइरहेको कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गर्न र नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्न माग गर्दै कुखुरापालक किसानले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
देशभरबाट काठमाडौं आएका कुखुरापालक किसानले भारतीय कुखुरा तथा चल्लाको अवैध आयात तत्काल रोक्न सरकारसँग माग गरेका हुन् । किसानहरूले उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने मागसमेत अघि सारेका छन् ।
उनीहरूले उत्पादन लागत, जोखिम र लगानीलाई आधार बनाएर कुखुराजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुपर्ने बताएका छन् । भारतबाट अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिने क्रम नरोकिँदा नेपाली किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ ।
उनीहरूका अनुसार अवैध तस्करीले नेपाली पोल्ट्री व्यवसायमा प्रत्यक्ष असर पार्नुका साथै ठूलो लगानी गरेका किसानलाई आर्थिक रूपमा समस्यामा पारिरहेको छ । किसानहरूले आफ्ना समस्या, गुनासा तथा सुझाव सम्बोधन गर्न छुट्टै आयोग वा प्रभावकारी संयन्त्र गठन गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्यबारे जानकारी पाउने गरी पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ । किसानहरूले सरकारले अवैध आयात नियन्त्रणसँगै नेपाली पोल्ट्री क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् ।
भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण, किसानको लगानी संरक्षण र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड छ ।
