काठमाडौँ, ८ भदाै । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने मार्कसिट, प्रमाणपत्र तथा प्रव्रजन प्रमाणपत्रलगायतका शैक्षिक कागजात पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएकी थिइन् ।
उजुरीका आधारमा अख्तियारले गरेको अनुसन्धानका क्रममा बोहराले पेस गरेका शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको खुलेको आयोगले जनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पदमा नियुक्ति लिएपछि बोहराले पारिश्रमिक, भत्तालगायतका सुविधा समेत लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
आयोगका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाई वा बनाउन लगाई पेस गरी राष्ट्रसेवकको पदमा नियुक्ति लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर हो ।
उक्त कसुरमा कानुनबमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा बोहराविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
अब उक्त आरोपसम्बन्धी मुद्दामा विशेष अदालतबाट हुने सुनुवाइ तथा प्रमाण परीक्षणपछि बोहराको कानुनी जिम्मेवारी निर्धारण हुनेछ ।
