काठमाडौँ, २६ चैत्र । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवा गरी तत्काल चुनाव गराउन दिएको अन्तर्राष्ट्रिय निकायको निर्देशन अस्वीकार गरेको छ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले गएको आइतबार राखेपलाई पत्र पठाउँदै एन्फामाथि गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सात दिनभित्र निलम्बन फुकुवा गरी निर्वाचन गराउन निर्देशन दिएका थिए।
तर राखेपले उक्त निर्देशन अस्वीकार गर्दै फिफा र एएफसीलाई औपचारिक पत्राचार गरेको जनाएको छ। राखेपले एन्फाको निलम्बन फुकुवा गर्ने विषयमा हतार नगरी सम्बन्धित सबै पक्षबीच छलफल आवश्यक रहेको बताएको छ।
राखेपले यस विषयमा एन्फा, फिफा, एएफसी र राखेपबीच संयुक्त बैठक आयोजना गरिनुपर्ने शर्त अघि सारेको छ। संयुक्त छलफलपछि मात्र निलम्बन फुकुवा गर्ने वा अन्य निर्णय लिने प्रक्रिया अघि बढाइने परिषद्ले जनाएको छ। यस घटनाक्रमले नेपाली फुटबल क्षेत्रमा थप विवाद उत्पन्न हुने सम्भावना देखिएको छ।
काठमाडौँ, ६ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।
राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते झापामा हुन लागेको चुनाव स्थगित गर्न निर्देशन दिनुभएको हो ।
राखेपले आवश्यक स्वीकृति नलिइएको उल्लेख गर्दै तत्काल चुनाव रोक्न र तीन दिनभित्र लिखित जानकारी गराउन भनेको छ । पत्रमा निर्देशन अवज्ञा गरी प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यसैबीच, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा सहभागी गराएको विषयमा अध्यागमन विभागले छानबिन थालेपछि एन्फाको आयोजनामा भइरहेको पुरुष तथा महिला दुवै लिग स्थगित गरिएको छ ।