चालु आर्थिक वर्षभित्र होटल तथा पर्यटन मेला आयोजना गर्ने निर्णय।
बागमती प्रदेशका १३ जिल्लामा होटल संघ विस्तार गर्ने तयारी।
५० बेडसम्मका होटललाई IEE गर्नुपर्ने व्यवस्था हटाउन सरकारसँग माग गर्ने।
प्रदेशका सबै जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गर्ने।
होटल व्यवसायलाई उद्योगसरह सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने।
काठमाडौं, भदौ ७ । होटल संघ बागमती प्रदेशको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। भदौ ३ गते चाबहिलस्थित होटल ग्रान्ड भ्युमा बसेको बैठकले होटल तथा पर्यटन क्षेत्रको प्रवर्द्धन, संगठन विस्तार तथा होटल व्यवसायीका हकहितसँग सम्बन्धित विषयमा निर्णय गरेको हो।
बैठकले चालु आर्थिक वर्षभित्र सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग सहकार्य गरी होटल तथा पर्यटन मेला आयोजना गर्ने निर्णय गरेको छ। पर्यटन प्रवर्द्धनसँगै होटल व्यवसायको सम्भावना, योगदान र यस क्षेत्रका गतिविधिलाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको संघ बागमती प्रदेश अध्यक्ष रामसुन्दर बकेले जानकारी दिए ।
त्यस्तै, ५० बेडसम्म क्षमताका होटललाई प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्नुपर्ने व्यवस्था हटाउन सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। होटल व्यवसायलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न आवश्यक नीतिगत सुधारका लागि सम्बन्धित सरकारी निकायसँग पहल गर्ने संघले जनाएको छ।
बैठकले संघको संगठन विस्तारलाई समेत प्राथमिकतामा राखेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये संघ गठन हुन बाँकी रहेका जिल्लामा भदौ महिनाभित्रै जिल्ला संघ गठन गर्ने निर्णय गरिएको छ। त्यसैगरी प्रदेशका सबै जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। सरकार र होटल तथा पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद गराई क्षेत्रका समस्या, चुनौती तथा समाधानका उपाय पहिचान गर्ने उद्देश्यले संवाद कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ।
होटल तथा पर्यटन क्षेत्रका विभिन्न विषयलाई व्यवस्थित रूपमा अघि बढाउन संघअन्तर्गत विभिन्न विभाग गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ। कार्यालय व्यवस्थापनका लागि संस्थाका सल्लाहकार संयोजक घनश्याम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
बैठकमा होटल व्यवसायले उद्योगसरह मान्यता पाए पनि उद्योगले प्राप्त गर्ने विभिन्न सुविधाबाट आफूहरू वञ्चित रहेको विषयसमेत उठाइएको थियो। होटल व्यवसायलाई पनि उद्योगसरहका सुविधा उपलब्ध गराउन सम्बन्धित सरकारी निकायसँग आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
होटल संघ बागमती प्रदेशले प्रदेशका होटल व्यवसायीबीच सहकार्य र एकता कायम गर्दै पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। संघले नेपालको पर्यटन तथा होटल व्यवसायीको हकहित र व्यावसायिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउने जनाएको छ।
