भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण

चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण

मकवानपुर, ७ भदौ । चितवन र मकवानपुरका व्यावसायिक रूपमा पालिएका मौरीका घारमा विनाशकारी मानिने ‘सानो खपटे कीरा’ (स्मल हाइभ बिटल) को सङ्क्रमण फैलिएको छ। वर्षायाममा प्राकृतिक आहारको कमीले मौरीका गोला कमजोर हुनुका साथै घारभित्र राखिने कृत्रिम पोलनमा कीरा आकर्षित हुने भएकाले यसको सङ्क्रमण बढेको हो।

घारमा धेरै समयसम्म पोलन सञ्चय भइरहँदा खपटे कीराले फूल पारेर लार्भा हुर्काउने भएकाले सङ्क्रमण फैलिएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाईँले बताए। पूर्वी चितवन र मकवानपुरको हेटौँडा तथा मनहरी क्षेत्रमा व्यावसायिक रूपमा पालिएका ‘एपिस मेलिफेरा’ जातका मौरीका घारमा यो समस्या बढी देखिएको उनले जानकारी दिए।

यो कीराले मौरीले सञ्चय गरेको मह, कुट र मैन सबै नष्ट गरिदिने भएकाले किसानको व्यवसायमा नकारात्मक असर पुग्ने जोखिम रहेको प्रमुख अङ्गाईँले बताए। कार्यालय र अन्य प्राविधिकहरूको समन्वयमा किसानको घारमै पुगेर नियन्त्रणका लागि काम भइरहेको उनले स्पष्ट पारे। निरीक्षण गर्दा घारमा खपटे तथा लार्भा देखिने, चाका बिग्रिने र महमा अमिलो गन्ध आउने जस्ता लक्षण देखिने उनले जानकारी दिए।

वर्षायाममा आहारको अभाव हुने भएकाले किसानहरूले भटमास, चनाको सातु, मल्टिभिटामिन र चिनीको चास्नी मिसाएर कृत्रिम आहार दिने गर्छन्। यही बेला सानो खपटे कीरा बढी आकर्षित हुने भएकाले मौरीलाई बचाउन पुग्ने गरी थोरै मात्रामा मात्र पोलन दिन प्रमुख अङ्गाईँले आग्रह गरे।

सानो खपटे कीराको व्यवस्थापनका लागि मौरीको गोला बलियो राख्नुका साथै घारको नियमित सरसफाइ र निरीक्षण गर्नु मुख्य विधि भएको उनले बताए। घारभित्र रहेका सङ्क्रमित तथा पुराना चाका र फोहर तुरुन्त हटाउनका साथै वयस्क कीरा वा लार्भा देखिएमा नष्ट गर्न उनले सुझाव दिए।

खपटे कीराको रोकथामका लागि घारलाई घाम लाग्ने र सुक्खा ठाउँमा राख्न तथा गुणस्तरीय रानी मौरीको प्रयोग गर्न आग्रह गरिएको छ। यस कीराको लार्भा माटोमा गएर प्युपा बन्ने भएकाले घार वरपरको माटो खनजोत गर्ने, ‘बिटल ट्र्याप’ को प्रयोग गर्ने र एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति अपनाउन प्रमुख अङ्गाईँले सुझाव दिए। रासस

 


Thali Mobile Pvt.Ltd.