भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौं, २ भदौ । चाडपर्व नजिकिँदै गर्दा नेपालमा चिनीको मूल्य बढ्न थालेको छ। पछिल्लो एक महिनामै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेपछि उपभोक्ता मारमा परेका छन्।

चिनीको मूल्यसँगै दाल, चामल, खाने तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ। चिनीको अभाव हुने हल्लाका बीच उद्योगी तथा व्यवसायीले बजारमा आपूर्ति घटाएको र त्यसको असर मूल्यमा परेको खुद्रा व्यापारीहरूले आरोप लगाएका छन्।

भारतले गत वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालमा चिनी अभाव हुने आशंका बढेको थियो। त्यसपछि नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति जारी गर्दै नेपालमा पर्याप्त मौज्दात रहेकाले तत्काल चिनी अभाव नहुने जनाएको थियो।

संघका अनुसार त्यतिबेला नेपालमा करिब १ लाख ८ हजार टन चिनी मौज्दात रहेको थियो। तर तीन महिनामै मौज्दात सकिन लागेको भन्दै बजारमा मूल्य बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।

सामान्य समयमा नेपालमा चिनीको औसत माग करिब २५ हजार टन रहेको बताइएको छ। तर जेठ, असार र साउनमा दैनिक १२ देखि १५ टन मात्रै चिनीको खरिद–बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन्।

उद्योगीहरूले बजारमा पठाउने चिनीको मात्रा घटाएपछि आपूर्ति कम भएको र त्यसको फाइदा उठाउँदै मूल्य बढाइएको खुद्रा व्यापारीहरूको आरोप छ।

काठमाडौं उपत्यकाका पसलमा अहिले चिनी प्रतिकिलो ११५ देखि १२० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। एक महिनाअघि प्रतिकिलो ९५ देखि १०० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले १२० रुपैयाँसम्म पुगेपछि उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

चाडपर्व नजिकिँदै जाँदा चिनीको माग अझ बढ्ने भएकाले आगामी दिनमा अभाव हुने हो कि भन्ने चिन्ता उपभोक्तामा बढेको छ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्यबारे विश्लेषण गरिरहेको जनाएको छ। विभागका निर्देशक तारानाथ लुइँटेलका अनुसार हालसम्म गरिएको विश्लेषणमा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँ नभई ११० देखि ११५ रुपैयाँसम्म पुगेको पाइएको छ।

मौज्दातमा रहेको चिनी सकिन लागेकाले भारतबाट चिनी आयात गर्ने तयारी भइरहेको पनि निर्देशक लुइँटेलले जानकारी दिएका छन्।

सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाइएको हो वा वास्तविक आपूर्ति समस्याका कारण मूल्य बढेको हो भन्ने विषयमा निगरानी तथा मूल्य विश्लेषण गरिरहेको जनाएको छ।

काठमाडौँ, १८ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) ३९ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) ३० रुपैयाँ तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ निर्धारण गरिएको छ।

अन्य तरकारीतर्फ गाजर (लोकल) ८० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, काउली स्थानीय ८० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ तथा भन्टा लाम्चो र डल्लो दुवै ५० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको समितिले जनाएको छ।

समितिका अनुसार बजार आपूर्ति र मागअनुसार कृषिउपजको मूल्य दैनिक रूपमा समायोजन हुने गर्दछ।

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा एकाएक ठूलो वृद्धि गरेको छ । संघले किसानको फार्म मूल्यलाई आधार मानेर समर्थन मूल्य सार्वजनिक गर्दै आएको छ र यसपटक सार्वजनिक गरिएको मूल्यसूचीमा उल्लेखनीय वृद्धि गरिएको हो ।

संघका अनुसार आजदेखि लागू हुने नयाँ दरअनुसार अति ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेस (३० वटाको) मूल्य ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडियम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ। यो दर यसअघि भन्दा प्रतिक्रेस ५५ रुपैयाँले अधिक हो । अवैध भारतीय अण्डा नेपाल छिर्न नपाएको कारण स्थानीय उत्पादनले उचित मूल्य पाएको संघका अध्यक्ष विनोद पोखरेलले बताए । भारतमा निर्वाचनका कारण सीमा कडा बनेको साथै त्यहाँ अण्डाको माग र मूल्य बढेकाले नेपालतिर तस्करीसमेत रोकिएको उनको भनाइ छ ।

संघका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा ७.८० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतमै राम्रो मूल्य पाएको कारण अब अवैध रूपमा नेपाल अण्डा ल्याउने प्रवृत्ति लगभग रोकिएको उनले बताए । नेपालमा एक अण्डाको उत्पादन लागत १६ रुपैयाँ ५७ पैसा पर्ने भएकाले किसानले अहिले लागत बराबरको मूल्य पाएको संघले जनाएको छ । जाडो मौसम सुरुसँगै अण्डाको खपत बढ्ने भएकाले पनि माग वृद्धि भएको अध्यक्ष पोखरेलले जानकारी दिए। चिसोबाट बच्न अण्डा खानुपर्छ भन्ने जनचेतना फैलिएको कारण पनि खपत बढेको संघको तर्क छ ।

करिब तीन महिनाअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेस ५३० रुपैयाँ पुगेको थियो भने पछि घटेर ४०० मा झरेको थियो । पछिल्ला दिनमा पुनः वृद्धि हुँदै अहिले किसानले लागत मूल्य पाउने स्थितिमा पुगेका छन्, जसले किसानलाई फाइदा हुने संघको दाबी छ । 

नेपालमा दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ ।