बागलुङ, २ मंसिर । ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। २०७७ सालमा निर्माण थालिएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायिक उत्पादन शुरु भएको हो।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। २०६५ सालमा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि २०७७ देखि मात्रै काम शुरु भएको हो।
शुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ। गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन थालेको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए। बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए।
‘दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत् गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सब स्टेसनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिँदैन’, उनले भने।
हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए। हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। शुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले शुरु गरेको उनको भनाइ छ।
निर्माण सम्पन्न गर्न दुई अर्ब बढी लगानी भएको अध्यक्ष पुन बताउँछन्। हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उनी बताउँछन्।
‘दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ’, अध्यक्ष पुनले भने, ‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्यौँ, अहिले सम्पन्न भएर सकियो।’ रासस
बागलुङ, ९ साउन। बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो । अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन् ।
उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ । वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ ।
साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । “हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ”, समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, “बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ ।”
अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् । बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँसखेती गर्न थालेका छन् ।
साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए। “चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ”, उनले भनिन्, “७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौँ ।”
ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन् । उनले वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने बताइन् । आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन् ।
बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन् । समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन् । रासस