भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

रौतहटमा बाघको गणना प्रक्रिया सुरु

संरक्षण र सचेतनामा जोड दिन वन कार्यालयको आग्रह

जिल्लाका विभिन्न वन क्षेत्रमा बाघको बसोबास पुष्टि

नेपालमा बाघको संख्या ३५५ रहेको जानकारी

विगतमा बाघ आक्रमणका घटना दोहोरिँदै आएको तथ्य सार्वजनिक

रौतहट, ११ जेठ । बाघको संरक्षण गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएका हुन्।

बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै यसको संरक्षण हुने बताउँदै उनले बाघ भएको ठाउँ सुन्दर जङ्गल हुने हुँदा बाघ मार्ने वा बाघसँग दुस्मनी गर्ने काम कसैले पनि गर्न नहुने विचार व्यक्त गरे। रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकिन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ, साहले भने, यहाँ लोपोन्मुख अवस्थामा रहेको पाटेबाघ छ।

लमाहा नदीको माथिल्लोदेखि तल्लो क्षेत्र, धन्सारको वन क्षेत्र, हातेमालो सामुदायिक वन उपभोक्ता समूह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ।

बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गेलगायतका जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए।नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि सङ्ख्या यकिन हुने बताए।

पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै उनले बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने स्पष्ट पारे। कार्यक्रममा उनले बाघ संरक्षणको महत्त्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे प्रकाश पारेका थिए।

रौतहटमा बाघको आक्रमणका घटनाहरू

वि।सं। २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको मृत्यु भएको थियो। भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो। उनलाई खोज्न गएका दुई युवकलाई पनि सोही समयमा बाघले आक्रमण गरी घाइते बनाएको थियो।

यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमाहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए। बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्गछेउमै बाघले आक्रमण गरेको थियो।

त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। गुजरा–१ राईटोलमा आफ्नै घरनजिक रहेको आलुबारीमा पानी लगाउन गएका बेला बौराहीमाथि बाघले आक्रमण गरेको र उनलाई बचाउन गएका वडाध्यक्ष रामजितलाई समेत बाघले झम्टिएर घाइते बनाएको थियो। रासस

चितवन, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्जपर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६० वटा क्यामेरा हराएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रिएका छन्। दुवै निकुञ्जमा कुल १,७८० वटा क्यामेरा प्रयोग गरिएको थियो।

गत पुस ३ गते सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। दुई निकुञ्जलाई एउटा कम्प्लेक्स र कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी ९५८ ग्रिड बनाएर गणना गरिएको थियो।

प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानेर १७ रातसम्म क्यामेरा राखेर तथ्याङ्क संकलन गरिएको जनाइएको छ।यसअघि सन्  २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। सो क्रममा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।

काठमाण्डौ, १२ माघ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गएको पुस ३ गतेदेखि शुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गाणना गरिँदैछ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम शुरु गरिएको छ । त्यसका लागि तालिम दिएका १ सय ५० गणकहरू गणनामा खटिएका छन् । दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो ।

यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो । चितवन–पर्सा ब्लकमा ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ ।

योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए । रासस

मुख्य बुँदा 

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटक बाघ गणना शुरू

क्यामेरा ट्रयाप जडान गरी गणना प्रक्रिया

बर्दियामा करिब १२५ बाघ, नेपालभर ३५५ बाघ

बाघ वृद्धि सँगै मानव–वन्यजन्तु द्वन्द्व गम्भीर

चालू आर्थिक वर्षका दुई महिनामै ४ जनाको ज्यान गयो

बर्दिया, १० पुष । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।

बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा ज्यान गएको छ । नेपालले एक दशकमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार अहिले नेपालमा ३ सय ५५ बाघ छन्, जसमा बर्दियामा मात्रै झन्डै १ सय २५ रहेको छ । पछिल्लो समय २१ वटा पाटेबाघ मरेको छ । बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

बाघको सङ्ख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको सङ्ख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको छ । निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३ सय २२ वन्यजन्तु मरेको छ र ४ सय २३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मरेकामध्ये ठूलो हिस्सा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।

बाघ मर्नुको मुख्य कारणमध्ये आपसी लडाईं पनि देखिएको छ । वयस्क बाघहरू क्षेत्राधिकारका लागि प्रतिस्पर्धा गर्दा धेरैजसो मर्ने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ । चालू आर्थिक वर्ष २०८२र२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । रासस

मुख्य बुँदा 

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

१५० गणक, २८६ ग्रिडमा क्यामेरा मार्फत गणना

चितवन–पर्सा ब्लक, बाँके, बर्दिया र शुक्लाफाँटा पनि समावेश

प्रत्येक बाघको पाटा अनुसार संख्या छुट्याइने

३ महिना लगाएर गणना, पश्चात् गैँडा गणना

चितवन, ३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।”

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ ।

चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए ।

“योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार-चार वर्षमा बाघ गणना गरिँदै आइएको छ”, मगरले भने । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उनले जानकारी दिए ।

ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिए ।

“ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, सूचना अधिकारी मगरले भने । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।

“हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइने छ”, उनले भने ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । रासस

काठमाण्डौ, १ पुष । मंगलबारदेखि देशभर पाँचौं राष्ट्रिय बाघ गणना औपचारिक रूपमा शुरु भएको छ। हरेक चार वर्षमा गरिने बाघ गणनाको औपचारिक उद्घाटन चितवनको सौराहामा कार्यक्रम आयोजना गरी गरिएको हो।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा बाघ गणना सञ्चालन भइरहेको छ। यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ।

गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत निकायहरू सहयोगीका रूपमा परिचालित छन्। विभागका अनुसार २ सय ५० जना प्राविधिक कर्मचारी देशभर खटाइएका छन् र साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

बाघ गणनाका लागि १ हजार १ सय अत्याधुनिक क्यामेराहरू प्रयोग गरिनेछ। क्यामेराबाट सङ्कलित बाघका तस्बिरको विश्लेषण गरी सङ्ख्या यकिन गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो। पाँचौं राष्ट्रिय बाघ गणनाको नतिजा आउँदो चैत महिनामा सार्वजनिक गरिनेछ।

बाघ गणनालाई चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स गरी तीन खण्डमा विभाजन गरेर वैज्ञानिक विधिबाट सम्पन्न गरिँदैछ। यसका लागि झन्डै २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारीसमेत गरिएको छ। गत वर्ष बजेट अभावका कारण गैँडा गणना रोकिएको थियो।