अत्यधिक चिसोका कारण मुस्ताङका पाँचै स्थानीय तहमा विकास निर्माण ठप्प
कोरला सडकअन्तर्गत सडक र पुल निर्माण प्रभावित
माइनस २० डिग्रीसम्म तापक्रम झरेको
दर्जनौँ संघीय, प्रदेश र स्थानीय योजनामा असर
वैशाखपछि मात्रै काम पुनः सुरु हुने अपेक्षा
मुस्ताङ, २९ पुष । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।
उत्तररदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् ।
पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए ।राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ ।
उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको ९कागबेनी–छुसाङ० ९ दशमलव ८ किमी कालोपत्रे सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्रे गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ ।
भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ ।
यसैगरी, कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ ।
विसं २०७३ र ७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्रे सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो ।
यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे। अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् ।
मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।
सवइञ्जिनियर जोशीका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए ।
पुराना बहुवर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयाँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ ।
मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्यअन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठुला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । “हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,” अध्यक्ष गुरुङले भने, “चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।”
चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।
माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।रासस
कालीगण्डकी करिडोरमा ८ अर्ब २० करोड खर्च
२०२ किमी सडक ट्र्याक खुला
८८ किमी कालोपत्रे, १४ पुल निर्माण सम्पन्न
कोरला सडकको लागत १५ अर्ब नाघ्न सक्ने
पहिरो रोकथाम र थप पुल निर्माण चुनौती
मुस्ताङ, २८ मंसिर । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१र८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।
भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्र्याक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर ९बेनी–जोमसाम–कोरला० सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो ।
जसअन्तर्गत आयोजनाले यहाँ २०७३र७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२र८३ प्रस्ताव गरिएको छ ।
तर कोरलानाकासम्मको सडक कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ । यस कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्र्याक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्रे र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ ।
उक्त लक्ष्यअनुरुप आव २०८१र८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्र्याक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्रे र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्रे गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ ।
यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्रे गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताए ।
कोरला सडकका लागि चालु आव २०८२र८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ ।
यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तीय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।
त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तीय प्रगति ९९ करोड ९६ लाख भएको थियो भने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।
आयोजना अनुसार गत वर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्रे, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गरे । राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३र७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४र७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५र७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६र७७ मा रु ९० करोड २५ लाख, आव २०७७र७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८र७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९र८० मा रु ५७ करोड एक लाख, आव २०८०र८१ मा ७२ करोड ७८ लाख र आव २०८१र८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।
कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ ।
बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २।५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।
बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्रे गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ ।
घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ । रासस